धनगढी पोष्ट
आइतबार, ०४ कार्तिक २०८१ मा प्रकाशित
धनगढी । कैलालीमा चालु आर्थिक वर्ष २०८१÷०८२ को तीन महिनामा एक सय १८ वटा घरेलु ंिहंसाका उजुरी दर्ता भएका छन् ।
चालु आर्थिक वर्षको साउन महिनादेखि असोज मसान्तसम्म सो संख्यामा घरेलु हिंसाका उजुरी दर्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेल प्रमुख प्रहरी निरीक्षक कल्पना पौडेलका अनुसार पहिला मानिसहरु उजुरी गर्ने कम आउने गरेको भएपनि अहिले जनचेतनाले गर्दा उजुरी गर्नेहरु बढेका छन् । ‘पहिला मानिसहरु हिंसा सहेर बस्ने गरेका थिए । अहिले हिंसा सहनु हुँदैन भने चेतना बढेको छ,’ पौडेल भनिन ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा चालु आर्थिक वर्षको साउनमा ५४ वटा उजुरी दर्ता भएकोमा ५२ वटा उजुरी मिलापत्र भएको छ भने दुई वटा उजुरी मिलापत्र हुन नसकेपछि अदालत पुगेका छन् ।
भदौ महिनामा ४१ वटा उजुरी दर्ता भएकोमा ३५ वटा उजुरी मिलापत्र भएको छ भने चार वटा उजुरी अदालत पुगेका हुन् ।
असोज महिनामा २३ वटा उजुरी दर्ता भएकोमा १७ वटा उजुरी मिलापत्र भएको महिला सेलले जनाएको छ । ६ वटा उजुरी प्रकृयामै रहेका छन् ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा पाँच सय पाँच वटा उजुरी दर्ता भएकोमा चार सय ७४ वटा उजुरी मिलापत्र भएका छन् भने २१ वटा उजुरी आदालत पुगेका छन् ।
यस्तै आर्थिक वर्ष २०७९÷०८० मा तीन सय ८३ वटा उजुरी दर्ता भएकोमा तीन सय ६० वटा मिलापत्र भएका छन् भने २३ वटा उजुरी अदालत पुगेका हुन् ।
आर्थिक वर्ष २०७८÷०७९मा चार सय ६० वटा उजुरी दर्ता भएकोमा चार सय ३९ वटा उजुरी मिलापत्र भएका छन् भने २१ वटा उजुरी अदालत पुगेको महिला सेलले जनाएको छ ।
महिला सेल प्रमुख पौडेलले उजुरी परेका केही घटनाहरु मिलापत्र हुन नसक्दा अदालतमा जाने गरेको बताइन् । आफूहरुका बढी जस्तो दम्पतिहरुको उजुरी आउने उनले बताइन् ।
हिंसा कम गर्नेका लागि आफुहरुले विद्यालय र समुदायहरुमा जनचेतना मुलक कार्यक्रमहरु गर्दै आइरहेको उनको भनाइ छ ।