धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ ।

जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रवि सहित छविलाल जोशी र लीला पछाई‌ंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।  उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो ।

सोही प्रकरणमा प्रकाउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा आजै उपस्थित गराइएको थियो। ६ असोजमा पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् ।

गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डीआईजी छविलालको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् ।

गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छवि विरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ ।

रास्वपाले आज पनि रत्नचोक नजिकैको वाई चोकमा कार्यकर्तालाई प्रदर्शनका लागि उपस्थित हुन आह्वान गरेको छ ।

जिल्ला अदालत, जिल्ला प्रशासन लगायत सरकारी कार्यालयहरु रहेको शहीद चोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपछि सोही चोक छिर्ने अर्को चोकमा रास्वपाले प्रदर्शन गरिरहेको छ ।

सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ ।

रविले सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमा समेत उल्लेख छ । सहकारी ठगी प्रकरणमा रवि सहित माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुन सहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए ।

पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टमेन्ट, गोर्खा आयुर्वेद प्रालि लगायतलाई विपक्षी बनाएर उनीहरुले पूरक जाहेरी दिएका थिए ।

त्यसअघिकै जाहेरीका आधारमा सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पटक–पटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबार मात्र रवि सहित १४ जना विरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ ।

उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर आचार्य, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् ।