धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

कैलालीका तीन गोदामबाट धान खरिद शुरु

कैलालीका तीन गोदामबाट धान खरिद शुरु

धनगढी । खाद्य तथा व्यापार कम्पनी धनगढीले कैलालीका तीन वटा गोदामबाट धान खरिद शुरु गरेको छ । खाद्यले धनगढीस्थित मोहनपुर, टीकापुर र सत्ती गरेर तीन वटा गोदामबाट धान खरिद शुरु गरेको हो । 

खाद्य तथा व्यापार कम्पनी धनगढीकी निमित्त प्रमुख इन्जिला बस्नेतले आइतबारदेखि धान खरिद गर्ने सुरु गरेको बताइन् । यस वर्ष मोटा धानको खरिद मूल्य तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरिएको उनले बताइन् । 

खाद्यले कैलालीबाट मोटा धान मात्र खरिद गर्ने योजना बनाएको छ । खाद्यले पराल, भुस, पोकटा, माटो नभएको सफा धान खरिद गर्न लागेको हो । नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्यले धान खरिद गर्न थालेको हो । 

प्रमुख बस्नेतले भनिन, ‘५५ हजार क्वीन्टल कोटा छ । अहिले तीन ठाउँबाट खरिद गरेका छौँ । स्थानीय तहले गोदाम दियो भने, तिहारपछि भजनी, बर्दगोरिया, हसुलिया लगायत ६ ठाउँबाट खरिद गर्ने योजना छ ।’ 

कैलालीबाट यस वर्ष कुल ५५ हजार क्विन्टल मोटा धान खरिद गर्ने योजना रहेको खाद्यले जनाएको छ । किसानले धान बिक्रीका लागि परिचय खुल्ने कागजात, वडा कार्यालयको सिफारिस र स्वघोषणा–पत्र ल्याउनु पर्ने बताएको छ ।

खाद्य कम्पनीलाई गत वर्ष ३५ हजार धान खरिद गर्ने कोटा निर्धारण गरिएकोमा २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । 

किसानको समर्थन मूल्य भन्दा व्यापारीले बढी मूल्यमा धान खरिद गरेपछि किसानले व्यापारीलाई बिक्री गरेका थिए । गत वर्षको धान खरिद मूल्य तीन हजार एक सय ५८ रुपैयाँ थियो । तर, यस वर्ष भने मूल्य बढाइएको छ ।
No description available.