धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

'हनी ट्रयापिङ’ गिरोहसँग मिलेकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी एक महिनादेखि फरार

'हनी ट्रयापिङ’  गिरोहसँग मिलेकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी एक महिनादेखि फरार

काठमाडौँ । सिंगो प्रहरी संगठनकै बदनाम गराउने गरी ‘हनी ट्रयापिङ’ गिरोहसँग मिलेकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन ।

जबकि अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको एक महिना हुन लागिसकेको छ । इन्स्पेक्टर पक्राउ नपर्दा सो घटनाका कतिपय विषय अझै अधुरै छन् । इन्स्पेक्टर र ताज इस्लामबिच कसरी सम्पर्क भयो भन्ने विषयमा अझै अस्पष्ट छ । 

कतिसम्म भने प्रहरीले इन्स्पेक्टरको मोबाइल फरेन्सिक ल्याबमा समेत पठाएको छैन । जसकारण यसमा संलग्न अन्यलाई जोगाउन लागिएको आशंका गरिएको छ ।

घटनामा पर्दापछाडि रहेका एसपी थापाकै चलखेलका कारण अनुसन्धान प्रभावित भएको प्रहरी उच्च स्रोत बताउँछ । छानबिन समितिमा समेत उनले बयान दिन अस्वीकार गरेकी थिइन् । 

निलम्बित इन्स्पेक्टर शाही यो घटनामा मिल्ने मात्र होइन, प्रमाण नष्टमा समेत संलग्न देखिएकी छिन् । उनले अभियुक्त ताज इस्लामको मोबाइल प्रहरी कार्यालयबाटै गायब बनाएकी थिइन् ।

साथै, मिलापत्र गरेबापत पीडितसँग डेढ लाख रुपैयाँ लिएको खुले पनि त्यसमा समेत विस्तृत छानबिन हुन सकेको छैन । गम्भीर घटनामा मुछिएकी इन्स्पेक्टर एक महिनासम्म पक्राउ नपर्नुले संगठनले नै उनलाई जोगाएको आशंका बढेको छ ।