धनगढी पोष्ट
आइतबार, २५ कार्तिक २०८१ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउलाई राजनीतिक पूर्वाग्रह भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।
सहकारीको रकम घोटाला प्रकरणमा एउटा पार्टीको सभापतिलाई राजनीतिक पूर्वाग्रह भएर पक्राउ गरियो भन्ने आरोप लागेको छ, यसमा कांग्रेसको प्रतिक्रिया के छ भन्ने प्रश्नमा देउवाले भने, ुहाम्रा सांसदलाई मुद्दा चलाइयो । तर, हामीले कहिल्यै होहल्ला गरेनौँ । अदालती प्रक्रियामा गएको कुरा त अदालतले फैसला गर्ला नि ।ु
देउवाले अहिलेको गठबन्धन पूरै कार्यकाल टिक्ने पनि दाबी गरे । ुअहिले गठबन्धनमा कुनै समस्या छैन । पूरै समय टिक्छ,ु उनले भने ।
देउवा एक साताका लागि गृहजिल्ला सुदूरपश्चिम आएका हुन् । नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउदका अनुसार देउवा भोलि गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ ।
डडेल्धुरामा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको उनले बताए ।
देउवा चौलोले प्रख्यात बडाल जाँत र उग्रतारा मेलामा सहभागी हुने सभापति साउदले बताए । बडाल जाँत देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिका–२ मा २७ गते लाग्नेछ भने उग्रतारा मेला जिल्ला सदरमुकाम नजिकै १ मंसिरमा लाग्नेछ ।