धनगढी पोष्ट
सोमबार, २६ कार्तिक २०८१ मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।
देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा सिकलसेल एनिमिया रोग देखिएको छ । थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य मन्त्रालयको एक आँकडाले देखाएको छ ।
पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका भुभागमा बसोबास गर्ने थारु समुदायका नागरिकहरु सिकल सेल रोगबाट बढी प्रभावित पाइएको छ । यसअघि सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्ड स्थापना गर्ने सरकारको तयारी छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् । विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका बमोजिम सिकलसेल एनिमिया रोग लागेका विरामीहरुलाई शल्यक्रिया, औषधी तथा औषधीजन्य सामग्री, थप निदानात्मक सेवा शैया सेवा शुल्क आदिका लागि एक लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।