धनगढी पोष्ट
मङ्गलबार, २७ कार्तिक २०८१ मा प्रकाशित
मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको संंख्या बढाएर १४ पुर्याएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १३ मन्त्रालयलाई विभाजन गरी १४ बनाएको हो।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेको जानकारी दिए।
उनका अनुसार बैठकले प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गरेको हो।
मन्त्रालयको संख्या बढाउने निर्णय गरेको प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजनअनुसार मन्त्रीको जिम्मेवारी भने तोकेको छैन।
प्रवक्ता लामिछानेले मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविभाजनअनुसार उक्त मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने जानकारी दिए।
नयाँ थपिएको मन्त्रालयको जिम्मेवारी लामो समयदेखि विभागीय जिम्मेवारीमा नरहेका मन्त्री मदुकुमार श्रेष्ठले पाउने छन्।
गत ९ साउनमा सरकार गठन भएदेखि उनले जिम्मेवारी पाउन सकेका छैनन्। उनी विगत १११ दिनदेखि विनाविभागीयमन्त्रीका रूपमा छन्।
प्रदेशमा मुख्यमन्त्री लामासहित कांग्रेसका आठ र एमालेका ६ जना मन्त्रीहरू रहेका छन्।