धनगढी पोष्ट बिहिबार, २९ कार्तिक २०८१   November 14, 2024

सुदूरपश्चिम सरकारका सय दिन के–के भयो ?

सुदूरपश्चिम सरकारका सय दिन के–के भयो ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलन गरी सरकारका सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।

सरकारले सय दिनमा ८.०२ प्रतिशत वित्तीय प्रगति गरेको मुख्यमन्त्री शाहले बताए । उनका अनुसार चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख बजेट रहेकोमा ११.०१ प्रतिशत खर्च भएको छ भने १८ अर्ब ७६ करोड २४ लाख पुँजीगत बजेट रहेकोमा ५।९७ प्रतिशत खर्च भएको छ ।

चालु वर्षमा प्रदेश सरकारले १ अर्ब ६० करोड ७० लाख १५ हजार राजस्व संकलनको लक्ष्य राखेकोमा अहिलेसम्म २३.९३ प्रतिशत अर्थात् ३८ करोड ४५ लाख ३० हजार संकलन भएको मुख्यमन्त्री शाहले बताए । 

प्रदेश सरकार गठन भएको अवधिमा १८.५ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने २७ किलोमिटर सडक ग्राभेल गरिएको छ । दुईवटा पुल निर्माण भएका छन् ।

मुख्यमन्त्री शाहले सरकारका सय दिन शासकीय दृष्टिले तथा राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा उपलब्धिमूलक रहेको दाबी गरे । उनले प्रदेश सरकारले राजधानीको विषय पनि टुंगो लगाउन खोजेको बताए ।

‘अहिलेसम्म गोदावरीमा राजधानी निर्माणका लागि भएका सबै प्रक्रियाको विषयमा प्रधानमन्त्रीज्यूलाई लिखित रूपमा जानकारी गराइएको छ,’ उनले भने, ‘गोदावरीको जग्गा उपलब्ध हुँदैन भने विकल्प खोज्छौँ भनेर पनि भनिसकेका छौँ । अबको हिउँदे अधिवेशनले राजधानीको विषय टुंगो लगाउँछ ।’