धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

नाउपाले १७ ठाउँका लागि उम्‍मेदवार टुंग्यायो

नाउपाले १७ ठाउँका लागि उम्‍मेदवार टुंग्यायो

काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले १७ वटा स्थानमा उम्‍मेदवार टुंगो लगाएको छ ।

नाउपाले सुदुरपश्चिम बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा रेखा जेठारा, कैलालीको जिसस प्रमुखमा रुक्मती थारुनी,कञ्चनपुर भिमदत्त नगरपालिका-६ मा वडाध्यक्ष हरिश चौधरीलाई उम्‍मेदवार बनाएको छ ।

यसैगरी लुम्बिनी प्रदेशको कपिलवस्तुको सुद्धोधन गाउँपालिका-१ मा वडाध्यक्षको लागि सुर्यकुमार चौधरी थारु, बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड-४ को वडाध्यक्षका लागि प्रितिलाल थारुको नाम टुंगो लगाएको छ भने गण्डकी प्रदेशको गोरखामा गोरखा नगरपालिका-५ मा वडाध्यक्षका लागि सुकमाया नेपाली, बाग्मती प्रदेशको नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्षका लागि अमृत तामाङलाई उम्‍मेदवार बनाएको छ ।

यस्तै मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ मा अध्यक्षका लागि शिवकुमार राम र सोही पालिका वार्ड-१ को वडाध्यक्षका लागि चन्द्रकिशोर चौधरीको नाम टुंगो लगाएको छ ।

यस्तै रौतहटको इशनाथ नगरपालिका-७ मा वडाध्यक्षका लागि टेक साहिद, रौतहटकै राजपुर नगरपालिका वार्ड-६मा वडाध्यक्षका लागि नरुद्धिन खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने यसैगरी रौतहटकै गढीमाई नगरपालिका-८ को वडाध्यक्षका लागि टेक सुनौलालाई सिफारिस गरेको छ ।

यस्तै कोशी प्रदेशअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि बुद्धिचन विश्वासलाई उम्‍मेदवार बनाएको छ । सुनसरीको गढी गाउँपालिका वार्ड-८ मा वडाध्यक्षका लागि ललित चौधरी, ताप्लेजुडको सिरीजङ्घा गाउँपालिका-३ का वडाध्यक्षका लागि प्रेममा देनलाई उम्‍मेदवार बनाउने नाउपाले निर्णय गरेको छ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षका लागि सिताराम चौधरी र उदयपुरकै बेलका नगरपालिका-८ को वडाध्यक्षका लागि भुपेन्द्र राईलाई सिफारिस गरिएको पार्टीले जनाएको छ । साथै अन्य स्थानका लागि उम्‍मेदवारको सिफारिस प्रक्रियामा रहेको पार्टीले जनाएको छ ।