धनगढी पोष्ट मङ्गलबार, ०२ बैशाख २०८२   April 15, 2025

दुई दलीय संयन्त्र बनेपछि सत्ता सञ्चालनमा सहज भयो : परराष्ट्रमन्त्री

दुई दलीय संयन्त्र बनेपछि सत्ता सञ्चालनमा सहज भयो  : परराष्ट्रमन्त्री

धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले एमाले र कांग्रेसबीच संयन्त्र बनेपछि सत्ता सञ्चालनमा सहज भएको बताएकी छन्।

उनले दुई फरक दल सत्ता सहकार्यमा रहेकाले सानो तिनो कुरामा पनि विवाद हुँदा समस्या हुने भएपछि दुई दलीय संयन्त्र बनेको बताइन्।

धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग शुक्रबार डडेल्धुरा जाने क्रममा कुरा गर्दै मन्त्री राणाले अब तल्लो तहसम्म दुई दलको संयन्त्र निर्माण हुने र सत्ता सञ्चालनमा सहज हुने बताइन्।

उनले भनिन्,’दुई ठूला प्रतिस्पर्धी दलबीच विशेष परिस्थितिमा सत्ता सहकार्य भएकाले सत्ता सञ्चालनमा सहजीकरणका लागि संयन्त्र निर्माण भएको हो।’

परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी तीव्र रुपमा अघि बढेको बताइन्। अब चाँडै दुई देशका अधिकारीबीच भ्रमणमा उठाइने विषयवस्तुबारे छलफल भएर तयारी पूरा हुन्छ।

उनले धनगढीमा रहेको गेटा मेडिकल कलेज सञ्चालनको प्रक्रियाअघि बढेर सञ्चालन भइसकेको र अब चाँडै पढाइ सञ्चालन हुने वातावरण बन्ने बताइन्।

उनले भनिन्, ‘यसमा सबै सकारात्मक छन्। चाँडै गति लिन्छ।’ यसपटक नितान्त धार्मिक यात्राका लागि डडेल्धुरा जान लागेको उनले बताइन्।