धनगढी पोष्ट
शुक्रबार, ३० कार्तिक २०८१ मा प्रकाशित
धनगढी । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सुदूरपश्चिममा एक सय ८९ जना नयाँ मतदाता थपिएका छन् । २०७९ को निर्वाचनपछि २०८१ को उपनिर्वाचनमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिम प्रदेशका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टका अनुसार २०७९ को निर्वाचनमा १७ हजार एक सय ३२ जना मतदाताले भाग लिएका थिए भने २०८१ को उपनिर्वाचनमा १७ हजार तीन सय १३ जना मतदाताले भाग लिदैँछन् । मतदान केन्द्र १८ वटा रहेको उनले बताए ।
सुदूरपश्चिममा एक जिल्ला समन्वय समिती प्रमुख, एक गाउँपालिका उपाध्यक्ष र चार वटा वडाध्यक्ष गरी ६ वटा जिल्लाका ६ पदका लागि उपनिर्वाचन हुँदैछ ।
अध्यावधिक विवरण अनुसार उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको बाजुराको स्वार्मीकार्तिक खापर गाउँपालिकामा सात हजार चार सय ६० जनाले निर्वाचनमा भाग लिँदैछन् । यस पालिकामा २०७९ को निर्वाचनमा सात हजार चार सय २७ जनाले भाग लिएका थिए ।
उपनिर्वाचनमा ३३ जना नयाँ मतदाताले निर्वाचनमा भाग लिने भएका छन् । यस पालिकामा पाँच वटा मतदान केन्द्र रहेका छन् ।
बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्यहाँ एक हजार पाँच सय ५४ जना मतदाता रहेका छन् भने २०७९ को निर्वाचनमा एक हजार पाँच सय २२ जना मतदाता रहेका थिए । उपनिर्वाचनमा ३२ जना नयाँ मतदाता थपिएका छन् । यस वडामा दुई वटा मतदान केन्द्र रहेका छन् ।
डोटीको पूर्विचौकी गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका लागि उपनिर्वाचनमा एक हजार पाँच सय ९५ जनाले भाग लिने भएका छन् । २०७९ को निर्वाचनमा एक हजार चार सय ९१ जना मतदाता रहेकोमा एक सय दुई जना नयाँ मतदाता थपिएका हुन् । यस वडामा तीन वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्यहाँ एक हजार दुई सय ७२ जना मतदाता रहेका छन् भने २०७९ को निर्वाचनमा एक हजार ८० जना मतदाता रहेका थिए ।
२०७९ को निर्वाचनको तुलनामा उपनिर्वाचनमा आठ जना मतदाता कम रहेका छन् । यस वडामा दुई वटा मतदान केन्द्र रहेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा पाँच हजार चार सय ३४ जना मतदाताले निर्वाचनमा भाग लिने भएका लिदैँछन् ।
२०७९ को निर्वाचनमा पाँच हजार चार सय १२ जना मतदाताले भाग लिएका थिए । उपनिर्वाचनमा २२ जना नयाँ मतदाता थपिएका छन् । यस वडामा ६ वटा मतदान केन्द्र रहेका छन् ।
कैलाली जिल्ला समन्वय समिती प्रमुखका लागि हुने उपनिर्वाचनमा १३ वटा नगरपालिका÷गाउँपालिकाका प्रमुख÷उपप्रमुखहरुले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका निमित्त प्रदेश निर्वाचन अधिकारी भट्टले उपनिर्वाचन हुने जिल्लाहरुलाई निर्वाचन सामाग्री केही किन्न लगाइएको भएपनि केही सामाग्री आयोगबाट प्रराप्त भएपछि उपलब्ध गराउने तयारीमा रहेको बताए ।
अहिले निर्वाचन स्थलमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचन गर्ने लागिएको उनले बताए । उनका अनुसार निर्वाचन हुने केही जिल्लाहरुमा बसाइसराइ र मत्यु भएका मतदाताहरुको मतदातानामावलीबाट नामहरु हटाइएकाले गर्दा पनि गत विगतका निर्वाचन भन्दा यस उपनिर्वाचनमा कम मतदाता रहेका छन् ।
उपनिर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वको समितीले सुरक्षा व्यवस्था कडा बनाएको उनको भनाइ छ ।
विसं २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।