धनगढी पोष्ट
सोमबार, ०३ मङि्सर २०८१ मा प्रकाशित
दार्चुला । दार्चुला–बैतडी जोड्ने अवरुद्ध सडकखण्ड १४ घण्टापछि सञ्चालनमा आएको छ । आइतबार साँझ ६ देखि अवरुद्ध बनेको दशरथचन्द राजमार्ग सोमबार बिहान १० बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार अवरुद्ध सडक सुचारु भएपछि यातायातका साधन गन्तव्यतिर लागेका छन् ।
बैतडीको पाटन नगरपालिका–४ को जेउडेमा मोड सुधारको क्रममा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।
सडक डिभिजन कार्यालय पाटनका इन्जिनियर लिलाधर भट्टका अनुसार बिहानै ५ बजेदेखि ३ वटा स्काभेटर प्रयोग गरेर १० बजेबाट सडक खुलाइएको हो ।
अहिले दुवै जिल्लाबाट छुटेका छोटो तथा लामो दुरीका सवारीसाधनहरु चल्न थालेका छन् ।