धनगढी पोष्ट
सोमबार, ०३ मङि्सर २०८१ मा प्रकाशित
धनगढी । आसन्न मंसिर १६ गते हुने सुदूरपश्चिममा उपनिर्वाचन हुने ६ जिल्लामा ६ पदका लागि ३० जनाको उम्मेदवारी दर्ता भएको छ ।
कैलाली, कञ्चनपुर, दार्चुला, डोटी बझाङ र बाजुरामा हुने उपनिर्वाचनमा उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले जिल्ला समन्वय समितिको प्रमुख पदका लागि सत्ता गठबन्धबाट नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी (भुल) र नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डगौरा थारूले उम्मेदवारी दर्ता भएको बताए ।
कांग्रेसकी चौधरी कैलारी गाउँपालिका वडा नम्बर २ मा वडा सदस्य हुन् भने नागरिक उन्मुक्तिकी डगौरा टीकापुर नगरपालिकाकी कार्यपालिका सदस्य हुन् । १३ स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समितिमा कुल २६ मत छ ।
टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह जग्गा घोटाला काण्डमा निलम्बित भएपछि २५ जनाले मतदान गर्न पाउनेछन् ।
कैलालीमा कांग्रेससँग आठ, नागरिक उन्मुक्ति पार्टीसँग सात, एमालेसँग पाँच, माओवादीसँग तीन, नेकपा एकीकृत समाजवादीसँग एक र स्वतन्त्र एक गरी २५ मत छ ।
जिल्ला समन्वय समिति कैलालीका तत्कालीन प्रमुख पदम कलेलको २०७९ पुस २३ मा निधन थियो । उनी कांग्रेसबाट निर्वाचित भएका थिए ।
बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ ।
नेपाली काँग्रेसका पुतलीसरा शाही, नेकपा एमालेका सुलोचना भण्डारी, नेकपा माओवादी केन्द्रका राजुकुमारी बुढा, नेकपा एकीकृत समाजवादीका जवा शाही र राप्रपाका सुनादेवी थापा भोटे धामीले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेले अघिल्लो पराजित भण्डारीलाई उम्मेदवार बनाएको हो । उपाध्यक्ष मैना जोशीको गत
माघमा क्यान्सरका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । जोशी काँग्रेसबाट निर्वाचित भएकी थिइन् ।
दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । काँग्रेसबाट धनसिंह कुँवर, एमालेबाट मानसिंह बडाल, माओवादीबाट बीरसिंह कार्कीको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै लालबहादुर कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको गत वर्ष निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यसैगरी डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । काँग्रेसबाट मोहन थापा, एमालेबाट देवबहादुर थापा, माओवादी केन्द्रबाट डिबीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकी खड्का कुँवरको उम्मेदवारी दिएका हुन् । काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको दुई वर्षअघि निधन भएको थियो ।
बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा काँग्रेसबाट धीरेन्द्र पुजारा, माओवादी केन्द्रबाट पुष्करबहादुर बोहरा र नेकपा एमालेबाट लखिचन्द्र बोहराको उम्मेदवारी परेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष सर्जन बोहराको गत वर्ष जेठमा मृत्यु भएको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका लागि १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काँग्रेसका प्रकाश चन्द, एमालेका बहादुर चन्द, माओवादीका नानाराम कोली, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा, जनता पार्टीबाट यादवबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट र नागरिक उन्मुक्ति पार्टीबाट हरिश डगौराको उम्मेदवारी परेको हो ।
त्यस्तै राप्रपाबाट दुई जना शुसीलकुमार भट्ट र दिलबहादुर धामी तथा थानेश्वर लेखक र युवराज चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । भीमदत्त वडा नम्बर ६, का वडाध्यक्ष महेन्द्र खड्काको एक वर्षअघि निधन भएको थियो । उनी काँग्रेसबाट निर्वाचित भएका थिए ।