धनगढी पोष्ट
मङ्गलबार, ०४ मङि्सर २०८१ मा प्रकाशित
धनगढी । खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीबाट चार सातामा साढे १४ हजार क्विन्टल धान खरिद गरेको छ । खाद्यले कात्तिक ११ गतेदेखि कैलालीका पाँच ठाउँमा धान खरिद सुरु गरेको थियो ।
खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी निमित्त प्रमुख इन्जिला बस्नेतले मंसिर २ गतेसम्म १४ हजार ६ सय ६३ क्विन्टल धान खरिद गरेको बताइन् ।
खाद्य कम्पनीले मंसिर २ गतेसम्म मोहनपुर गोदाम धनगढीबाट आठ हजार दुई सय क्विन्टल, टीकापुर गोदामबाट पाँच हजार एक सय ५० क्विन्टल, सत्ती गोदामबाट ६ हजार दुई सय २४ क्विन्टल, भजनी खरिद केन्द्रबाट एक हजार एक सय ८२ क्विन्टल र जोशीपुर खरिद केन्द्रबाट एक हजार तीन सय चार क्विन्टल धान गरिद भएको खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
प्रादेशिक कार्यालय धनगढीकी निमित्त प्रमुख बस्नेतका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि ५५ हजार क्विन्टल धान खरिदको कोटा छ । कम्पनीले कोटा अनुसार धान खरिद गर्ने सक्ने उनले बताइन् ।
उनले भनीन, ‘अहिले किसानहरु गहुँ बाली लगाउन व्यस्त हुनुहुन्छ । हाम्रो दिनमा हजार प्लसमा धान आइराछ । राम्रै छ ।’ कोटा अनुसार धान खरिद गर्ने र थप कोटा माग गर्ने उनले बताइन् ।
यस वर्ष पालिकाहरुसँग समन्वय गरेर धान खरिद गरिरहेको उनले बताइन् । उनले पालिकाहरुसँग समन्वय गरेर धान खरिद गरेकाले गोदामको अभाव नहुने बताइन् । पालिकाले गोदाम दिएकाले गर्दा धान खरिद गर्ने सहज भएको उनको भनाइ छ ।
बस्नेतका अनुसार गत विगतका वर्षहरुमा गोदाम नहुँदा भाडाका गोदाममा धान राख्ने गरे पनि यस वर्ष पालिकाले गोदाम उपलब्ध गराएकाले धान खरिदमा केही सहज भएको छ ।
कम्पनीले पराल, भुस, पोकटा, माटो नभएको सफा धान खरिद गरिरहेको छ । नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्यले धान खरिद गर्न थालेको हो ।
गत आर्थिक वर्षमा कम्पनीले मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ५८ रुपैयाँमा खरिद गरेको थियो । तर, यस वर्ष भने मूल्य बढाएर प्रति क्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ ।
किसानले धान बिक्रीका लागि परिचय खुल्ने कागजात, वडा कार्यालयको सिफारिस र स्वघोषणा–पत्र ल्याउनु पर्ने बताइएको छ । खाद्य कम्पनीलाई गत वर्ष ३५ हजार धान खरिद गर्ने कोटा निर्धारण गरिएकोमा २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो ।