धनगढी पोष्ट
बिहिबार, ०६ मङि्सर २०८१ मा प्रकाशित
धनगढी । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्त हत्या काण्डको अनुसन्धान जारी रहेको बताएका छन् ।
धनगढीमा बिहीबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले हत्या भएको लामो समय भए पनि अनुसन्धान जारी रहेको बताएका हुन् । गृहमन्त्री लेखकले भने,‘ अनुसन्धानलाई रोक्नु हुँदैन । अनुसन्धान हुन्छ ।’
गृहमन्त्री लेखकले परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताए । उनले मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको बताए ।
‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ। तर अहिले सम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने।
उनले यो गठबन्धन २०८४ सम्म कायम रहने बताउँदै अबको एक वर्ष आठ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख गरे।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दल बिच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए।
‘एमाले र काङ्ग्रेसबिच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौँ, २०८४ को निर्वाचन सम्म सहज मिलेर जान्छौ,’ उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ।’ तीन दिन सुदूरपश्चिममा रहेका गृहमन्त्री लेखक आजै काठमाडौँ फर्किएका छन् ।