धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सत्ता गठबन्धनमा कुनै खटपट छैन् : देउवा

सत्ता गठबन्धनमा कुनै खटपट छैन् : देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नरहेको बताएका छन् । 

प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न जनकपुरधाम पुगेका देउवाले संघीय सरकारमा कुनै खटपट नरहेको बताउँदै यो गठबन्धन रहिरहने बताएका हुन् । 

जनकपुर विमानस्थलमा संचारकर्मिहरूसंग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ ।मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरूले पनि निर्णय गर्नुपर्ने हुन्छ ।’

त्यस्तै उनले चिनियाँ परियोजना बीआरआई मार्फत अनुदान सहयोग मात्रै लिइने बताएका छन् । उनले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा मात्रै सहयोग लिइने कांग्रेसको स्टैण्ड रहेको स्पष्ट पारे ।

‘बीआरआई परियोजनामा हामी स्पष्ट छौं, ऋण होइन अनुदान लिनुपर्छ,’ कांग्रेस सभापति देउवाले भने,‘बीआरआई परियोजनामा छलफल जारी छ छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए ।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच समझदारी बन्न सकेको छैन । प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन् ।

यही भ्रमणका अवसरमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा नेपाललाई हस्ताक्षर गराउन चीनले चाहिरहेको छ । तर यहाँका सत्तारूढ दलहरूबीच नै बीआरआई कार्यान्वयन योजना सम्झौताका विषयमा मत मिल्न सकेको छैन ।