धनगढी पोष्ट
शनिबार, १३ पुष २०८१ मा प्रकाशित
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास भएको छ। शनिवार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जालपादेवी केबलकारको शिलान्यास गरेकी हुन्।
चिसापानीमा बेस स्टेशन रहने केबलकारको शीर्ष बिन्दु भने मोहन्याल गाउँपालिकामा रहनेछ।
लकारको शिलान्यासपछि बोल्दै राणाले जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकास निर्माणको ढोका खुल्ने विश्वास व्यक्त गरिन्। उनले राजनीतिले मात्रै पेट नभरिने भन्दै रोजगारी, आय आर्जन गर्ने वातावरण बन्नुपर्नेमा जोड दिइन्।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश र स्थानीय तहहरुबीच लगानीकर्ताहरुलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने प्रतिष्पर्धा हुनसकेमात्रै आर्थिक विकास र समृद्धि हासिल हुने बताए।
चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर आफूहरुह अघि बढिरहेको अध्यक्ष ढकालको भनाइ छ।
सुदूरपश्चिम प्रदेशको प्रबेशद्धार चिसापानीबाट राजकाडासम्म चल्ने केबलकार जालपादेवी केबलकार कम्पनीको सात अर्ब लगानीमा निर्माण हुने भएको हो । होटल, रिसोर्ट, केबलकार सहितका पर्यटकीय पुर्वाधारहरु सो केबलकार कम्पनीले निर्माण गर्नेछ ।
गत वैशाखमा सुरु भएको पहिलो चरणको काम सकिएपछि कम्पनीले निर्माणको चरणमा प्रवेश गरेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याउने उद्देश्यका साथ कम्पनीले काम गरिरहेको छ ।
चिसापानीदेखि राजकाँडासम्म केबलकारको कुल लम्बाई ३.१ किलोमिटरको रहने छ । केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने छन् । केबलकार निर्माणसंगै राजकाँडामा रहेको जलपादेवी, कालभैरव, कालिकादेवीको मन्दिरको स्तरोन्नति गर्ने बताइएको छ ।
राजकाँडामा एक सय र चिसापानीमा ५० बेड क्षमताको होटल समेत निर्माण गरिने छ । चिसापानीमा बेस स्टेशन रहने केबलकारको शीर्ष बिन्दु भने मोहन्याल गाउँपालिकामा रहनेछ ।