धनगढी पोष्ट बिहिबार, ०१ जेठ २०८२   May 15, 2025

सुदूरपश्चिमका जिल्लामा भुवा पर्व सुरु

सुदूरपश्चिमका जिल्लामा भुवा पर्व सुरु

बझाङ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भुवा पर्व सुरु भएको छ।बझाङ लगायत सुदूरपश्चिमका जिल्लामा भुवा पर्व सुरु भएको हो। यो पर्व युद्धकालीन अभ्यास बझाङ्गी संस्कृतिमा भुवा पर्वका रूपमा तामझामका साथ मनाइने गरिन्छ।

हातमा तरबार र ढाल लिएर सामूहिक रुपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्ने गरिन्छ। भुवा विशेष गरी सुदूरपश्चिमको बझाङ, अछाम, डोटी र बाजुरा जिल्लामा मनाउने गरिन्छ । भुवा पर्वको अवसरमा घरघरमा गएर भुवा–भैलो खेलेर चामल दक्षिणा माग्ने, भुवा खेल्ने र आशिर्वाद दिने प्रचलन रहेको छ।

ऐतिहासिक किम्बदन्ती बोकेको भुवा पर्वको सांस्कृतिक महत्व पनि रहेको छ। महाभारतको युद्धमा पाण्डव र कौरवबिचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन्।

पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ। आफन्तसँगको भेटघाट, आपसी सद्भाव,रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ।

सुदूरपश्चिमका बझाङ, अछाम, डोटी लगायत बाजुरा जिल्लाको विभिन्न गाउँहरूमा स्थानीयले यो पर्व विशेष रुपमा मनाउने गर्दछन्। भुवा पर्वमा पाण्डव र कौरवको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने, लाखे नाच नाच्ने, भारीखेल लगाउने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ।

आज बझाङ जिल्लासहित सुदुपश्चिमका जिल्लाहरुमा आगोका राँकाहरू बालेर स्थानीयले एकै ठाउँमा जम्मा भई भुवा जगाएका छन्। सत्यको जितसँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले तथा पाण्डवले कौरवसँगको लडाइँमा विजय हासिल गरेको अवसरमा भुवा पर्व मनाउने गरिएको भुवा पर्वका जानकार जयपृथ्वी नगरपालिका–१ कैलासका विर्ख बहादुर सिंहले बताए।

उनका अनुसार पुरानो संस्कृति अनुसार विभिन्न गाउँटोलमा भुवो नाच देखाउने गरिन्छ। यो समय  खेतीपातीको कामबाट फुर्सद हुने समय भएकाले स्थानीयहरु पर्वमा बढी सहभागी हुने गरेको सिंहले बताए।

भुवो नाचका क्रममा नांगो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शन गरिन्छ। सबै जातजाति तथा गाउँ समाजको एकता, भाइचारा एवं आपसी सद्भाव झल्काउने पर्वका रूपमा यसलाई लिइने गरेको मष्टा गाउँपालिका–४ खेतिका भुवो पर्वका जानकार जया सेटिले बताए।

सेटिले भने, ‘सुदूरपश्चिमबाट लोप हुने अवस्थामा रहेको यो नाच जोगाउन यहाँको युवा पुस्ता एकजुट भएर लाग्न आवश्यक छ।’ अघिल्लो पुस्ताका बूढापाकाले लोकलयमा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना, हितकारी सन्देश र माया साटासाट गर्छन्।

भुवा पर्वको आकर्षण भनेको भुवा नाच हो। भुवा पर्वमा खेलिने भुवा नाचमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउदै नाच्ने गर्दछन्। 

महाभारत युद्धमा पाण्डव पक्षको विजयउत्सवका रुपमा भुवा नाच देखाउन थालिएको जयपृथ्वी नगरपालिका–१ कैलाशका स्थानिय महेन्द्र सिंहले बताए। पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा पनि यो पर्व मनाउन थालिएको छ ।

जयपृथ्वी नगरपालिका–१ कैलाशका स्थानिय भविन्द्र बहादुर सिंहका अनुसार घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैटी माग्ने चलन छ।

सिंहले भने, ‘हाम्रो गाउँघरमा जेठो छोरो जन्मिएको एक वर्ष पूरा भएपछि भुवो पर्वकै अवसरमा छैटी खेल्ने चलन छ। छैटीमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई मान्यजनले आशिर्वाद दिने चलन छ।’ रासस