धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

पुस्तक महोत्सवमै छैन, पुस्तक प्रति चासो

पुस्तक महोत्सवमै छैन, पुस्तक प्रति चासो

धनगढी । धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी भइरहँदा पुस्तक प्रतिको चासो भने न्यून रहेको व्यवसायीको गुनासो छ । ज्येष्ठ नागरिकहरुमा पुस्तक प्रति रुचि देखिए पनि नयाँ पिढीमा भने पुस्तक प्रति चासो नदेखिएको व्यवसायीहरु बताउँछन् । 

काठमाडौंबाट धनगढी आएका पुस्तक व्यवसायी प्रकाशप्रसाद भट्टराईले पाका पुस्तामा पुस्तक प्रति थोरै चासो देखिए पनि नयाँ पिढीमा पुस्तक प्रतिको मोह नदेखिएको बताए । अहिले युवा पिढीमा पुस्तक प्रतिको चासो नै नदेखिएको उनले बताए । 

बढ्दो प्रविधिको विकासले गर्दा युवा लगायत विद्यार्थीहरुमा पुस्तक पल्टाउने प्रवृति घटेको उनले बताए । तर पुस्तक पढे जति ज्ञान विद्यार्थीले प्रविधिबाट पाउन नसक्ने उनले बताए । प्रविधिको बढ्दो विकासले पुस्तक व्यवसायीहरु मारमा परेको उनको दुखेसो छ । 

पुस्तक प्रदर्शनी मेलामा देश विदेशमा ख्याति कमाएमा लेख रचना संगै धार्मिक ग्रन्थहरु राखिएका छन् । मेला शुरु हुनु पूर्व व्यवसायीले ती पुस्तक हेर्ने र पढ्नेको लर्को लाग्ने अपेक्षा गरेका थिए । तर महोत्सव सञ्चालन भएपछि व्यवसायीले सोचे अनुसार न त कसैले पुस्तक पढे, नत पुस्तक प्रति चासो नै देखियो ।

पुस्तक व्यवसायी द्धिजराज अवस्थीले युवाहरुले आफनो सम्बन्धित पुस्तक बाह्य ज्ञानका लागि अन्य पुस्तकहरु हेर्ने छोडि सकेको बताए । पुस्तक ज्ञानको महासागर भए पनि युवापुस्ता ज्ञानको महासागरमा प्रवेश गर्न नै नचाहेको उनले बताए ।

पछिल्लो सयम पुस्तक प्रतिको चासो घटेको देख्दा केही बर्षमै पुस्तकको औचित्य नै समाप्त हुन सक्ने उनको चिन्ता छ ।

पु्स्तक महोत्सवले गर्दा शैक्षिक क्षेत्रमा धेरै नै ठूलो टेवा पुगाइरहेको एक्सिस विद्याश्रममा अध्ययनरत छात्र निरज अवस्थीले बताए । अहिले वृद्ध–वृद्धादेखि किशोर–किशोरीहरु प्रविधीमा फसिरहेका बेला महोत्सवले गर्दा पुस्तक तर्फ आर्कषण गर्ने मदत पुग्ने उनले बताए । वर्षेनी यस्ता मेला महोत्सवहरु हुने हो भने युवा पिढी लगायत विद्यार्थीहरु पुस्तक प्रतिको आर्कषण बढ्दै जाने उनको भनाइ छ । 

पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालले अहिले युवा लगायत विद्यार्थीहरुमा पुस्तक पढ्ने बानी हराउँदै जान थालेकाले गर्दा पढ्ने वानीको विकास गराउन पुस्तक प्रदर्शनी मेला आयोजना गरेको बताए । महोत्सवले गर्दा युवा र विद्यार्थीहरुलाई पुस्तक प्रति रुचि बढाउन धेरै हदसम्म सफल भएको उनले बताए । 

विद्यार्थी र पाठकहरुलाई पुस्तकको महत्वका विषयमा बुझाउन नसेकका कारणले गर्दा पनि पुस्तक प्रति आर्कषण बढ्न नसकिरहेको उनको बुझाइ छ । बढ्दो प्रविधीले गर्दा पनि पुस्तक तर्फ केन्द्रीत हुन नसकिरहेको उनले बताए । 

पुस्तकको ज्ञान आर्जनले समाज रुपान्तरणसँगै मानसपटलमा लामो समयसम्म रहिरहनका निमित पनि पुस्तक पढ्नु बाहेकको अरु कुनै विकल्प नरहेको उनको भनाइ छ । 

महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्नुका साथै पाँच करोड बढीको कारोवार हुने आयोजकले अपेक्षा गरेको थियो । तर महोत्सवमा पुस्तक हेर्नेको भिड भन्दा पनि मनोरन्जन हेर्नेको भिड बढेको छ । 

महोत्सवमा हेर्ने जानेहरुले स्टल अवलोकन भन्दा पनि कुनै कलाकारले के प्रस्तु्ती राख्छ भने तर्फ दर्शकहरुको आकर्षण बढेको देखिन्छ । 

पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कैलालीले पुस ९ गते देखि धनगढीमा जारी महोत्सव सोमबार समापन हुँदैछ ।