धनगढी पोष्ट बिहिबार, २५ पुष २०८१   January 9, 2025

सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा राना नियुक्त

सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा राना नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश नीति थता योजना आयोगको उपाध्यक्षमा डा. जीवन राना नियुक्त भएकी छन् । प्रदेश मन्त्रिपरिषद् बैठकले बिहीबार रानालाई उपाध्यक्ष नियुक्त गरेको हो ।

यस्तै सदस्यमा डा. हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन् । नवनियुक्त उपाध्यक्ष रानासहित आयोगका सदस्यहरूले बिहीबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।

आयोगको उपाध्यक्ष र सदस्य सत्तारुढ कांग्रेस र एमालेले भागबण्डामा नियुक्त गरेका हुन् ।

उपाध्यक्ष राना कांग्रेसको केन्द्रीय सदस्य हुन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ निवासी रानाले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधी गरेकी छिन् । 

यस्तै सदस्य भण्डारी कांग्रेस डडेल्धुराका सचिव हुन् । चन्द एमाले कञ्चनपुरका नेता हुन् ।

नवनियुक्त उपाध्यक्षलाई मुख्यमन्त्री कमलबहादुर शाह र सदस्यलाई उपाध्यक्ष रानाले पद तथा गोपनियताको सपथ गराएका छन् ।

एकीकृत समाजवादी नेतृत्वको प्रदेश सरकार गत असारमा ढलेसँगै आयोगका निवर्तमान उपाध्यक्ष गणेशबहादुर बिकेले पदबाट राजीनामा दिएका थिए ।

तर गठबन्धनबिच भागबण्डा नमिल्दा लामो समयसम्म उनको राजीनामा स्वीकृत भएको थिएन । राना आयोगको पाँचौँ उपाध्यक्ष हुन् ।