धनगढी पोष्ट
बुधबार, १४ साउन २०७७ मा प्रकाशित
धनगढी
गएरातिदेखिको अविरल बर्षाले कैलाली जिल्लाको पूर्वी तथा मध्यवर्ती क्षेत्रमा संयौ घरहरु डुवानमा परेका छन् ।
भजनी नगरपालिकाको वडा नम्बर ५ मा ३ सय ५० घर डुवानमा परेपति त्यहाँका १ हजार ८ सय मानिसहरुलाई उद्धार गरी हुलाकी राजमार्गमा ल्याइएको कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको मध्यवर्ती क्षेत्रको जोशीपुर गाउँपालिकामा ६० घर डुवानमा परेका छन् । कान्द्रा र काँढा नदीको किनारका बस्तीहरुमा बाढी पसेको त्यहाँका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । टीकापुर नगरपालिकाको मुक्तकमैया बस्ती बिजयनगरमा बाढी पस्दा दुई घर भत्केका छन् । प्रहरीका अनुसार टीकापुर क्षेत्रका बाढी प्रभावित क्षेत्रका मानिसहरुलाई राष्ट्रिय मावि बेलुवामा सारिएको छ ।
अहिले पनि कर्णाली नदीमा पानीको स्तर बढिरहेकै अवस्था रहेकोले थप सतर्कता आवश्यक रहेको कैलालीका प्रहरी प्रमुख जबराले बताए ।