धनगढी पोष्ट
शनिबार, २० पुष २०८१ मा प्रकाशित
काठमाडौँ । विश्व जलवायु सम्मेलन (कोप २९) उपलब्धिमूलक हुन नसकेको भन्दै प्रतिनिधि सभाका सांसदहरुले रोष व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले कोप २९ को समीक्षा गर्न आयोजना गरेको छलफलमा सांसदहरुले वन मन्त्रालयका कर्मचारीहरू माथि रोष प्रकट गरेका हुन् ।
वन मन्त्रालयका कर्मचारीहरूको कारणले कोप २९ भद्रगोल भएको उनीहरूले टिप्पणी गरे । सार्वभौम संसदका सदस्यको भूमिकालाई नजरअन्दाज गरेको आरोप उनीहरुको छ ।
समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले कोप २९ जस्तो बिजोकको सहभागिता पहिला कहिल्यै नभएको टिप्पणी गरे । राष्ट्रलाई विश्वसामु प्रतिनिधित्व गर्न राजनैतिक नेतृत्व नै आवश्यक रहेको बताए ।
कोप २९ मा संसदीय समितिको प्रतिनिधित्व नगर्दा अपेक्षाकृत प्रतिफल हासिल हुन नसकेको तर्क गरे । उनले वन मन्त्रालयका कर्मचारीहरूले सांसदहरूलाई केही नजान्ने, ज्ञान नभएको (गोज्याङ्ग्रे) जस्तो ठान्ने गरेको आरोप लगाए ।
कोप सम्मेलनमा राजनैतिक नेतृत्वले खेल्नसक्ने भूमिकालाई समेत वन मन्त्रालयले ओझेलमा पारेको बताए । जलवायु सम्मेलन जस्ता सम्मेलनहरू निजी मामिला जस्तो व्यवहार हुन थालेको भन्दै आक्रोश व्यक्त गरे ।
जलवायु परिवर्तनका असरविरुद्ध देश आफैँले धेरै गर्नसक्ने अवस्था भएपनि मन्त्रालयले चासो नदिएको आरोप सांसद बलायरको छ ।
ठूलाठूला भौतिक संरचना बनाउनुअघि गरिने वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टलाई वन मन्त्रालयले अनुगमन गर्न नसकेको बताए ।
रिपोर्ट स्वीकृत गर्ने तर अनुगमन गर्न नजाने गरेको आरोप सांसद बलायरको छ । वन मन्त्रालयले समितिसँगको सहकार्य बिना काम गर्न नसक्ने भन्दै एक्लै हिँड्ने कोसिस नगर्न चेतावनी दिए ।