धनगढी पोष्ट
सोमबार, २२ पुष २०८१ मा प्रकाशित
धनगढी । कृषि र पशु विकासमा आधारित साना किसान तथा उद्यमशिलता साझेदार परियोजना हेफर इन्टरनेशनल नेपालको प्रगति समिक्षा गोष्ठी भएको छ ।
धनगढीमा आइतबार सुदूरपश्चिमका पाँच पालिकामा सञ्चालित उक्त परियोजनाको प्रगति समीक्षा तथा प्रदेशस्तरीय समन्वयात्मक गोष्ठी भएको हो ।
परियोजनाले बझाङका चार पालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकामा कृषि व्यवसाय प्रबर्धन, बजारिकरण र उत्पादकत्व वृद्धिका लागि काम गरिरहेको हेफरका नेपालगञ्ज क्षेत्रिय कार्यक्रम प्रबन्धक प्रकाश केसीले जानकारी दिए ।
प्रबन्धक केसीका अनुसार स्थानीय सरकारसंगको साझेदारीमा एक बर्षदेखि सुरु भएको ह्यापर परियोजनाले दुर्गम क्षेत्रमा कृषि तथा पशु विकासका लागि काम गरिरहेको छ ।
ह्यापर परियोजनाले साना किसानलाई कृषि र पशु वस्तुको मुल्य शृंखलामा आबद्ध गराउँदै जलवायु मैत्री प्रविधि प्रदान गर्दै उत्पादन वृद्धि गर्न स्थानीय साझेदार संस्थासंग मिलेर काम गरिरहेको उनको भनाई छ ।
उनले किसानको उत्पादनलाई बजारिकण गर्दै आय वृद्धिको प्रयास गरिरहेको बताए । परियोजना स्वामित्व स्थानीय तहमा रहेको उनले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले सानो आकारमा आएको परियोजनाको काम महत्वपूर्ण भएको बताए । उनले परियोजनाको दायरा बढाउन आग्रह गरे ।
गोष्ठीमा बझाङको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले हेफर परियोजना प्रभावकारी भएको बताए । उनले यो परियोजना विपन्न नागरिक केन्द्रीत भएको बताउँदै कुनै पनि कार्यक्रम नतिजामुखि हुनुपर्ने बताए । उनले स्थानीय स्तरमा काम गर्न ठूला भन्दा घरेलु उद्योग सहज हुने बताए ।
कार्यक्रममा मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहरा,खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया,छविसपाथिभेरा गाउँपालिकाका अध्यक्ष बसन्तबहादुर चलाउने र कञ्चनपुरको पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयाप्रसाद शर्माले यो परियोजना प्रभाकारी भएको र यसलाई दीगो बनाउन आवश्यक रहेको बताएका थिए ।
हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा। तीर्थराज रेग्मीले हेफरले जीविकोपार्जन र अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको बताए । उनले हेफरले नेपालमा ५४ जिल्लाका चार लाख परिवारका कार्यक्रम गर्दै आएको बताए । उनले हेफरले परियोजनामार्फत रुपान्तरण खोज्ने गरेको बताए ।
परियोजनाले बझाङमा दलित सहयोग समाज र प्रगतिशिल युवा समाजको साझेदारीमा कार्यक्रम गरिरहेको छ । त्यस्तै, पुनर्बास नगरपालिकामा राष्ट्रिय वातावरण तथा समविकास समाज नेपालसँगको साझेदारी गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत नरेश धामीले बझाङका पालिकामा सञ्चालित परियोजनाको प्रगतिलगायत बिषयमा प्रस्तुतिकरण गरेका थिए भने कार्यक्रम संयोजक जगदीश धामीले पुनर्वासमा सञ्चालित परियोजनाका बारेमा प्रस्तुतिकरण राखेका थिए ।