धनगढी पोष्ट बिहिबार, २५ पुष २०८१   January 9, 2025

शुक्लाफाँटा निकुञ्जमा भारतीयको भोगचलन : सीमा पिलर राख्नेबारे छलफल भइरहेको गृहमन्त्रीको भनाइ

शुक्लाफाँटा निकुञ्जमा भारतीयको भोगचलन : सीमा पिलर राख्नेबारे छलफल भइरहेको गृहमन्त्रीको भनाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका छन् । 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री लेखकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका हुन् । 

यस विषयमा सरकार जानकार रहेको भन्दै कूटनीतिक तवरले समस्या समाधान गर्ने उनले बताए । मन्त्री लेखकले सीमाको विवाद नरहेकाले दुईवटै देशको सहमतिमा सीमा पिलर राख्नका लागि छलफल भइरहेको जानकारी पनि दिए । 

त्यस्तै, उनले जाजरकोटलगायत विभिन्न स्थानमा भूकम्पीडितका साथै बाढी पहिरोपीडितको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै तीव्र रूपमा पुननिर्माणको काम भइरहेको बताए । 

उनले पुननिर्माणको बाँकी कामलाई अघि बढाउन र राहत उपलव्ध गराउन क्षतिको विस्तृत लेखाजोखा गर्नका लागि मापदण्ड पारित समेत गरिएको जानकारी दिए ।