धनगढी पोष्ट आइतबार, ०४ फागुन २०८१   February 16, 2025

सांसद अरुण चौधरीको मुद्दामा आज पनि सर्वोच्चले सुनाएन फैसला

सांसद अरुण चौधरीको मुद्दामा आज पनि सर्वोच्चले सुनाएन फैसला

काठमाडौं । सर्वोच्च अदालतले कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्नेबारेमा बुधबार पनि सर्वोच्च अदालतले फैसला सुनाउन सकेन ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा.मनोजकुमार शर्माको इजलासले चौधरीविरुद्धको रिट निवेदनमा निर्णय सुनाउने मिति फेरि सारेको हो ।

चौधरीको योग्यतामाथि प्रश्न उठाई दायर रिटनिवेदनमाथिको सुनुवाइपछि संवैधानिक इजलासले १७ पुसमा मुद्दाको निर्णय सुनाउने मिति तोकेको थियो । मिति सारेर २४ पुसमा तोकिएकोमा आज पनि फैसला हुन नसकेको हो ।

अर्को मिति तोकिएको छैन । अधिवक्ता बसन्त जोशीले उनी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राखेका थिए । कुनै संघीय सांसदको योग्यताको विषयमा प्रश्न उठेमा सर्वोच्च अदालतको संवैधानिक इजलासले त्यसको टुंगो लगाउँछ ।