धनगढी पोष्ट शुक्रबार, २६ पुष २०८१   January 10, 2025

बजार क्षेत्रमा पाँच शौचालय निर्माण गर्दै धनगढी उपमहानगरपालिका

बजार क्षेत्रमा पाँच शौचालय निर्माण गर्दै धनगढी उपमहानगरपालिका

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा पाँच वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रका चार स्थानमा र एउटा खुल्ला मञ्च गरेर पाँच वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गर्ने भएको हो ।

धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दिजराज भट्टले निर्माणाधिन शौचालयहरु चालु आर्थिक वर्ष भित्रै सम्पन्न हुने बताए । उनले निर्माणाधिन शौचालयहरु लाई चैत भित्रै उद्घाटन गर्ने तयारीका साथ काम अगाडि बढाइएको बताए । 

उपमहानगरपालिकाले पाँच वटा सार्वजनिक शौचालय निर्माण गर्न सीबीआर कन्स्ट्रक्सन प्रा.लि सँग एक करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । उपमहानगरपालिकाले प्रति शौचालय निर्माणका लागि २४ लाख रुपैयाँका दरले ठेक्का सम्झौता गरेको हो । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अगाडि, साल्ट्र टे«डिङ अगाडि, डिभिजन वन कार्यालय अगाडि र खुल्ला मञ्च (पूरानो एयरपोर्ट नजिक) गरेर वटा शौचालय निर्माणधीन रहेका छन् ।

उपमहानगरपालिकाले गत आर्थिक वर्षमा उपमहानगरपालिका क्षेत्र अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि शौचालय निर्माण गरिसकेको छ । 

No description available.

डिभिजन इन्जिनियर भट्टले सडक निर्माणका क्रममा केही शौचालयहरु भत्किएर गए पनि केही क्षेत्रमा शौचालयहरु सञ्चालनमा नै रहेको बताए ।

प्रदेश सरकार र उपमहानगरपालिकाको संयुक्त लगानीमा चालु आर्थिक वर्ष भित्रै १० वटा थप स्थानमा शौचालय निर्माणका लागि पहिचान समेत गरेको उनले बताए ।

उनले पहिचान भएका स्थान मध्य पाँच वटा स्थानमा चालु आर्थिक वर्ष भित्रै शौचालय निर्माण कार्य सुरु गर्ने लक्ष्य लिएको बताए । उनले आवश्यकता र भिडभाड हुने स्थानमा थप शौचालय निर्माण गर्दै जाने योजना रहेको बताए । निर्माणाधीन शौचालयहरुमा पानीको व्यवस्था, प्याडहरुको व्यवस्था र शौचालय भित्रै चिया कफीको व्यवस्था समेत गरेको उनको भनाइ छ ।

शौचालयहरु रहेका ठाउँहरुमा  पाकिङ क्षेत्रको पनि विकास गरिरहेको उनले बताए । ग्रामीण क्षेत्रहरुमा पनि शौचालय निर्माणका लागि आफूहरुले जनचेतना मूलक कार्यक्रमहरु गर्दै आइरहेको उनको भनाइ छ । 

चालु आर्थिक वर्षमा थप शौचालय हुने स्थानहरु भन्सार क्षेत्रमा, विद्युत कार्यालय नजिक, चटकपुर आयल निगम अगाडि, बोराडाँडी क्षेत्रमा, उत्तर बेहडी चोकमा, ठाउँ पाएको खण्डमा राजपुरमा, खुल्ला मञ्च क्षेत्रमा थप एउटा, कैलाली बहुमुखी क्यापसको क्षेत्रमा एउटा गरेर चालु आर्थिक वर्ष भित्रै निर्माण कार्य सुरुवात हुने उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरपालिकाले बालाजी कन्स्ट्रक्सन प्रा.लि लाई वार्षिक एक लाखका दरले तीन वटा घुम्ती शौचालय सञ्चालनका लागि ठेक्कामा दिइएको जनाएको छ । कन्स्ट्रक्सनले एउटा घुम्ती शौचालय सञ्चालन गरेको भएपनि दुई वटा शौचालय सञ्चालन गर्ने सकेको छैनन् ।