धनगढी पोष्ट
शनिबार, २७ पुष २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढीस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न वार्षिक साधारण सभामा बोल्दै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले पछिल्लो समय केही सहकारी संस्थाहरुमा बचत रकम अपचलन भएकाले बदनामित हुँदै गएको बताए ।
उनले भने ‘केही सहकारीमा सर्वधारणले मकै पोलेर जम्मा गरेको पैँसा अपचलन भएको छ । सहकारीहरुले जनतामा विश्वास बढाउँदै जानुपर्ने अवस्था छ ।’ साधारण सभामा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा लेखा समिति संयोजक पुष्पराज ओझाले आन्तरिक लेखा परीक्षण प्रतिवेदनको बारेमा प्रस्तुत गरेका थिए ।
साधारण सभामा सहकारी क्षेत्रमा कलम चलाए बापत पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा नगद पाँच हजारसहित सम्मानित भएका थिए । संस्थाले एक उत्कृष्ट कर्मचारी, सहकारीमा आवद्ध चार जना जेष्ठ सदस्य, पाँच जना उत्कृष्ट बचत सदस्य र पाँच जना असल ऋणीलाई सम्मान प्रदान गरेको थियो ।
साधारण सभाको सञ्चालन संस्थाका सचिव विमल जोशीले गरेका थिए । साधारण सभामा हिमशिखर सहकारी संस्था लिमिटेडका सबै शाखाका कर्मचारी शेयर सदस्य ,ऋणी लगायत हिमशिखर सहकारीमा आबद्ध सरोकारवाला सबैको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हिमशिखर सहकारीको निक्षेप ५० करोड २३ लाख
हिमशिखर सहकारी संस्था लिमिटेडको गत आर्थिक वर्ष २०८०÷०८१ सम्म संस्थाको निक्षेप ५० करोड २३ लाख ५९ हजार कायम रहेको संस्थाका व्यवस्थापक महेन्द्र शाहीले बताए ।
शनिबार सहकारीको १६ औँ वार्षिक साधारण सभामा संक्षिप्त विवरणसहितको प्रतिवेदन पेश गर्दै उनले आर्थिक वर्ष २०७९÷०८० को तुलनामा आर्थिक वर्ष २०८०÷०८१ निक्षेप २६ दशमलव ७३ प्रतिशतले वृद्धि भएको बताए ।
गत आर्थिक वर्षमा संस्थाको आम्दानी तीन करोड ४५ लाख १५ हजार रहेको उनले बताए । उनले गत आर्थिक वर्षको असार मसान्तसम्म संस्थको नगद र बैंक मौज्दात नौ करोड ५५ लाख ६४ हजार रहेको बताए ।