धनगढी पोष्ट
सोमबार, २९ पुष २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका तीन जिल्लाबाट प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको छ । कैलाली, कञ्चनपुर र बैतडीबाट प्रहरीले आइतबार ३ लाख ५४ हजार ४१० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका – २ सिशापोष्ट नजिक र गोदावरी नगरपालिका – ४ बनदेबीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख २१ हजार ६८० रुपैयाँ बराबरको चिनी, मिस्री, मिठाई, बेसनको पिठो, पानी पुरी, सुट पिस, स्विटर, दोपट्टा, प्लाजु, मेक्सि लगायतका सामानहरू नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
अवैध रूपमा २ लाख १२ हजार २५० रुपैयाँ बराबरको चिनी, अचार, खाने तेल, दाल, पिठो, साइकलका सामान, प्लास्टिक झिल्ली, विभिन्न किसिमका कपडा, तराकारी, किरानाका सामान, मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै बैतडीको दशरथ चन्द नगरपालिका – ६ सेरा स्थित महाकाली नदीको किनारबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका २० हजार ४८० बराबरको २ क्विन्टल चिनी नियन्त्रण गरिएको प्रहरीको भनाइ छ ।
तीनै जिल्लामा बरामद गरिएको सबै सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।