धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025

डडेल्धुरामा गोली हानेर श्रीमानले गरे श्रीमतीको हत्या

डडेल्धुरामा गोली हानेर श्रीमानले गरे श्रीमतीको हत्या

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको अमरगढी-३ मल्लो पथरोडाबाट श्रीमतीको हत्या गरेको आरोपमा एक श्रीमान् पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका-३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर रहेका प्रहरीले जनाएको छ।

डम्बरले घरायसी विवाद हुँदा सोमबार बेलुका २४ वर्षीया श्रीमती अस्मिता थापा मगरलाई भरूवा बन्दुकले गोली हानेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर बिष्टले जनाएको छ।

प्रहरी स्रोतका अनुसार श्रीमान श्रीमतीबीच दैनिक झै-झगडा हुने गरेको खुल्न आएको छ। डम्बरले रक्सी सेवन गरी गोली हानेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट  भरुवा बन्दुकसहित पक्राउ गरेको छ। हत्याका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।