धनगढी पोष्ट
बुधबार, ०२ माघ २०८१ मा प्रकाशित
काठमाडौँ । नेपाल आयल निगमले भण्डारण क्षमता अभिवृद्धिका लागि कैलालीको गोदावरीमा डिपो स्थानान्तरण गर्ने भएको छ।
भण्डारण क्षमता अभिवृद्धि परियोजनाले बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कैलालीको गोदावरी नगरपालिका-८ स्थित पूर्व–पश्चिम राजमार्गनजिक २० बिघा १६ कट्ठा ८ धुर जग्गा फेला परेको र सोही जग्गामा डिपो सार्ने तयारी भएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा परियोजना प्रमुख ई। प्रदीपकुमार यादवले धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धिका लागि स्थानान्तरण गर्न लागिएको बताए।
उनले डिपो स्थानान्तरण गर्न निगमलाई जग्गा प्राप्तिका लागि जग्गा प्राप्ति ऐन, २०३४ अनुसार प्रक्रिया अगाडि बढाउन सरकारसँग सिफारिस गरिने बताए।
उनले आयल निगमले धनगढीमा विसं २०३७ सालमा तत्कालीन पेट्रोलियम पदार्थको दैनिक अधिकतम ४ गाडी माग धान्ने दृष्टिकोणले बनाएकाले अहिले डिपोको भण्डारण क्षमता हालको बजार मागअनुसार अपुग भएको बताए।
धनगढी डिपोका पूर्वाधारहरु जीर्ण भएकाले स्थानान्तरण गर्न लागिएको उल्लेख गरे। उनले १ बिघा ८ कट्ठामा सञ्चालित धनगढी डिपो सानो र सुरक्षाको मापदण्डभन्दा बाहिर परेकाले स्थानान्तरण गर्न लागिएको बताए।
उनले डिपो स्थानान्तरणका लागि आगामी माघ १५ गतेसम्म मन्त्रिपरिषदबाट जग्गा प्राप्तिको प्रक्रिया पूरा हुने अपेक्षा रहेको बताए। उनले आगामी चैतसम्ममा जग्गा अधिग्रहण सम्पन्न हुने उल्लेख गरे।
उनले डिपो स्थानान्तरण २०८२ वैशाख पहिलो हप्ताभित्रै शिलान्यास गरिने बताए। उनले डिपो निर्माण र डिपिआरको लागि काठमाडौँ विश्वविद्यालयलाई प्रदान गर्ने तयारी रहेको बताए। डिपो निर्माणको कुल लागत ३ अर्ब ५० करोड रुपैयाँ आँकलन गरेको छ।
कैलालीको गोदावरीमा पेट्रोल १ हजार ८ सय किलोलिटर, डिजेल ६ हजार ६ सय किलोलिटर, मट्टितेल ५ सय किलोलिटर र पानी ट्यांकी ३ हजार किलोलिटर क्षमतासहित कुल ११ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट डिपो निर्माण हुने भएको हो।
आगामी २०८२ वैशाखमा शिलान्यास गरी २०८४ मा यसको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यादवले जानकारी दिए।
निगमले यसअघि कञ्चनपुर जिल्लाको पुनर्वास वडा नं ३ र ६ स्थित राष्ट्रिय आवास कम्पनीको ७४ बिघा जग्गामध्ये २२ बिघा जग्गा मागेको थियो तर उक्त जग्गा उपलब्ध हुने अवस्था नभएपछि कैलालीको गोदावरीमा जग्गा खोजिएको हो।