धनगढी पोष्ट
शुक्रबार, ०४ माघ २०८१ मा प्रकाशित
धनगढी । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावलले देशव्यापी छलफलपछि मातृभूमि जागरण अभियानले पार्टीको स्वरुप लिने बताएका छन् ।
एमालेबाट निष्कासनमा परेपछि शुक्रबार बिहान पहिलोपटक गृहप्रदेश सुदूरपश्चिम आएका रावलले कैलालीको धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
पार्टी घोषणा गर्न सुदूरपश्चिम आउनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा रावलले भने, ‘अहिले नै पार्टी घोषणाको चरणमा हामी पुगिसकेका होइनौँ ।
देशव्यापी रूपमा छलफल भइसकेपछि मात्रै मातृभूमि जागरण अभियान राजनीतिक दलको स्वरुपमा जाने हाम्रो धारणा हो ।
अहिले अभियान सञ्चालनका लागि पनि स्पष्ट दिशा निर्धारण गर्न आवश्यक छ । देशव्यापी छलफलपछि मात्रै राजनीतिक दलबारे टुङ्गो लाग्नेछ ।’
रावलले देशको हित चाहने सबै राजनीतिक दल, संगठन र व्यक्तिसँग सहकार्य गर्न तयार रहेको बताए ।
शुक्रबार बिहान एमालेका स्थायी कमिटी सदस्य कर्ण थापासँग जहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी पुगेका रावललाई विमानस्थलमा उनका समर्थकले स्वागत गरेका थिए । सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व नाराबाजी भएको थियो ।
विमानस्थलबाट कैलालीको अत्तरिया पुगेका रावललाई त्यहाँ पनि स्वागत गरिएको छ ।
त्यहाँ आयोजित कोणसभालाई सम्बोधन गर्दै रावलले मातृभूमि जागरण अभियानलाई सफल बनाउन समर्थकलाई आग्रह गरेका थिए ।
अत्तरियाबाट रावल गृहजिल्ला अछामतर्फ लागेका छन् । अछामको रामारोशनमा रावलको प्रमुख आतिथ्यतामा शनिबार भेला हुनेछ ।