धनगढी पोष्ट
शुक्रबार, ०४ माघ २०८१ मा प्रकाशित
धनगढी । पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले एमालेबाट निष्कासित भएका डा भीम रावलको पार्टीमा प्रवेश गर्न लागिएको हल्ला निराधार भएको बताएका छन् ।
शुक्रबार रावलसँगै श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर धनगढी आवरण गरेका थापाले एमाले छोड्न लागेको हल्ला निराधार भएको बताएका हुन् ।
आफू पार्टी कामको शिलशिलामा बाजुरा जाने क्रममा संयोगवश एउटै ‘रो’मा देखिएको स्पष्ट पार्दै अन्य भित्रि उद्देश्य केही नभएको बताए ।
म बाजुरामा हुन लागिएको पार्टीको पालिकास्तरीय अधिवेशनमा भाग लिन धनगढी आएको हुँ। उहाँपनि एउटै एयरलाइन्सको टिकट काट्नुभएछ । सँगै फोटो देख्दैमा शङ्का गर्नु राम्रो होइन । म पार्टी कामले आएको हुँ । भीमजी आफ्नै कामले आउनुभएको होला । एमाले छोड्न लागेको हो कि भन्ने हल्ला निराधार हो’, उनले भने ।
आफू पहिला पनि पार्टी हितमा काम गर्दै आएको र भविष्यमा पनि पार्टीलाई बलियो र अनुशासित पार्टी बनाउनेमा सक्रिय भूमिका रहने उनले बताए ।
एमालेको पूर्वउपाध्यक्ष समेत रहेका रावललाई पुस १० गते बसेको सचिवालय बैठकले निष्कासन गरेको थियो ।