धनगढी पोष्ट
आइतबार, ०६ माघ २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढीस्थित त्रिनगर हाटबजार शनिबारदेखि दैनिक सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ वनदेवी मन्दिरसँगै रहेको हाटबजार सातैदिनका लागि सञ्चालनमा आएको हो ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले हाटबजार हप्ताका चार दिन सबै व्यवसायीलाई पसल राख्न र तीन दिन स्थानीय किसानले आफ्नो कृषि उपज बिक्री गर्ने व्यवस्था मिलाइएको बताए ।
हाट बजारमा हप्ताको तीन दिन धनगढीका किसानले आफ्नो कृषि उपज बिक्री गर्ने छन् भने बाँकी चार दिन खुल्ला व्यापार गर्न दिइने उपमहानगरपालिकाले जनाएको छ ।
‘आइतवार, मंगलवार र शुक्रवार किसानहरूका लागि, सोमवार, बुधवार, बिहिवार र शनिवारका दिन सबै किसिमका व्यवसायीका लागि हाटबजार खुला गरिएको र सबै किसिमको सामान बिक्री गर्न दिइनेछ,’ उनले भने, ‘हप्तामा चार दिन दाल, तरकारी, लत्ताकपडा, भाडा वर्तन लगायतका सामग्री बिक्री गर्न खुल्ला गरिएको छ ।’
त्रिनगर हाटबजार हप्ताको तीन दिन आइतवार, मंगलवार र शुक्रवार मात्रै लाग्दै आएको थियो । किसान कार्ड बनाएका व्यक्तिले मात्रै हाटबजार लाग्ने दिन व्यापार गर्न पाउने छुट पाएका थिए ।
धनगढी उपमहानगरपालिकाले फुटपाथमा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । फुटपाथबाट विस्थापित व्यक्तिलाई व्यापार गर्ने नयाँ ठाउँ दिन सकिएको छैन ।
त्यसैले फुटपाथबाट विस्थापितहरूलाई हप्तामा चार दिन त्रिनगर हाट बजारमा व्यापार गर्न दिने कार्यपालिकाले निर्णय गरेको नगर प्रमुख हमालले बताए ।
उनले फुटपाथमा व्यापार गर्दै आएकाहरूलाई हाटबजारमा आउन र आफूले बिक्री गर्दै आएको सामान बिक्री गर्न आग्रह समेत गरेका छन् । हाटबजारमा शनिबार कपाडको पसल थापेका तारादत्त पन्तले उपमहानगरपालिकाले खुल्ला बजार सञ्चालन गरेकामो आफुहरु खुशी भएको बताए ।
पहिला सडक छेउमा ठेल्ला राखेर व्यापार व्यवसाय गर्ने गरेको भए पनि अहिले ठाउँ पाउँदा निकै नैै खुशी भएको उनले बताए ।
हाटबाजार संचालनको ठेक्का पाएको बालाजी कन्स्ट्रक्सनका सञ्चालक अमित प्रताप सिंहले हाटबजार भित्रै व्यापार व्यावसाय गर्नेहरुले दैनिक एक सय रुपैयाँ तिर्नुपर्ने बताए । उनले हाटबजार भित्रै जसले पनि व्यापार व्यावसाय गर्ने पाउने बताए ।
धनगढी उपमहानगरपालिकाले महिला उद्यमीहरूका लागि शनिवारिय मेला लगाउँदै आएको छ । उपमहानगरपालिकाले माघ २१ गतेदेखि रोजगार मेला समेत गर्ने भएको छ ।
यस्तै युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न धनगढीको खुलामञ्च क्षेत्रमा रात्रिकालीन मेला लगाउने भएको छ ।