धनगढी पोष्ट
आइतबार, ०६ माघ २०८१ मा प्रकाशित
काठमाडौं । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । इजरायलले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ ।
सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन् । ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।
हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमणपछि विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो ।
तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् ।
तिनमा ८१ पुरुष १३ महिला छन् । इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् ।
हमासले ३३ जनाको सूचीबाट तीन जनालाई युद्धविराम सम्झौता लागू भएसँगै रिहा गर्ने जनाएको छ ।