राजधानी निर्माणको प्रकृया सुरु गर्न नसके नयाँ ढंगले जानुपर्छ : सभामुख भण्डारी

राजधानी निर्माणको प्रकृया सुरु गर्न नसके नयाँ ढंगले जानुपर्छ : सभामुख भण्डारी

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेशको स्थायी राजधानी निर्माणको प्रकृया सुरु गर्न नसक्ने अवस्थामा नयाँ ढंगले जानुपर्ने बताएका छन् ।

प्रदेश सभाको स्थापना दिवसका अवसरमा सोमबार सभामुख भण्डारीले  प्रदेशले आफ्नो छतसमेत बनाउन नसक्ने हैसियतमा बसिराख्ने हो भने प्रदेश संरचनामाथिनै प्रश्न उठ्ने बताएका हुन् । 

‘प्रदेशको राजधानी यो वर्ष पनि हामी अगाडि बढ्न सकेनौँ र टुङ्ग्याउन सकेनौँ भने नयाँ ढंगले सोँच्न बाध्य हुनुपर्छ भन्ने कुरा यहाँहरुको बीचमा राख्न चाहन्छु’ सभामुख भण्डारीले भने, ‘हाम्रो छत पनि बनाउन नसक्ने हैसियतमा बसिराख्ने हो भने हाम्रो उपादेयतामा हामी आफैभित्रबाट प्रश्न खडा हुन्छ ।’

सरकारले राजधानी निर्माणको नेतृत्व लिए त्यसमा सहयोग गर्न सिंगो प्रदेश सभा एक ठाउँमा उभिने सभामुख भण्डारीको भनाइ थियो ।

प्रदेशको राजधानीका संरचना बनाउने दिशामा अघि बढ्नसके त्यसले विश्वासको आधार बन्ने र सुदूरपश्चिमेलीलाई एकतामा बाध्ने आधार बन्नसक्ने उनले बताए ।

प्रदेश सभाले छ वर्षअघिनै स्थायी राजधानी कैलालीको गोदावरी तोके पनि संघीय सरकारबाट जग्गाको भोगाधिकार नपाउँदा राजधानी निर्माणको काम सुरु हुन सकेको छैन ।

‘हामीभन्दा पछाडि परेका प्रदेशहरु दु्रत गतिमा विकास गर्दैछन् । विकासका नयाँ संरचना हाम्रो आँखा अगाडि देखिदैछन् तर हामी घोषणा गर्ने कुनै पनि काम नगर्ने ठाउँमा जसरी पुगेका छौँ त्यो नभइकन अब काम गर्ने दिशामा अगाडि बढौँ’ सभामुख भण्डारीले भने ।