धनगढी पोष्ट
सोमबार, ०७ माघ २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशको स्थायी राजधानी बनाउनेतर्फ लाग्न प्रदेश सभा र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको स्थापना दिवसका अवसरमा सोमबार प्रदेश प्रमुख मियाँले अरु प्रदेशमा स्थायी राजधानी बनिसक्दा सुदूरपश्चिममा यसबारे कुरासमेत नउठ्नु विडम्बना भएको बताएका हुन् ।
स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य दिने क्रममा नेताहरुले राजधानीको विषयबारे केही नबोलेको भन्दै प्रदेश प्रमुख मियाँले असन्तुष्टि जनाए ।
‘यहाँ राजधानीको कुरा कसैले उठाएनन्, यो विडम्बना हो’ उनले भने, ‘राजधानी बनाउने कहाँ हो ? यहाँ दुई तिहाइको सरकार छ, दुई तिहाइमात्र होइन, शतप्रतिशतले नै राजधानीबारे चाँसो दिनुपर्ने हो ।’
दुई तिहाइको प्रदेश सरकार भए पनि राजधानीबारे चाँसो नखिएको उनको भनाइ थियो । छिटोभन्दा छिटो निर्णय गरेर राजधानी बनाउने काममा लाग्नसमेत उनले सरकारलाई सुझाव दिए ।
‘अहिलेसम्म राजधानीको लागि यहाँको सरकारले निर्णय गरेकोजस्तो लागेन । सपथ खाएकै दिन मुख्यमन्त्रीलाई मैले राजधानी बनाउन के गर्ने त्यहीँ बनाउने की यताउता सार्ने सल्लाह गर्नोस् भनेको हो’ प्रदेश प्रमुख मियाँले सुझाव दिए, ‘छिटोभन्दा छिटो निर्णय गरेर राजधानी बनाउने काममा लाग्नोस् । यो विकासमा फड्को मार्ने काम हुने छ ।’
मुलुक संघीय संरचनामा गएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको उनले बताए । ‘हामीले चाहेको भएको छैन तर हुँदै नभएको भन्ने होइन’ मियाँले भने, ‘धेरै कुरा अगाडि बढेका छन् ।’