धनगढी पोष्ट सोमबार, १४ माघ २०८१   January 27, 2025

धनगढी उपमहानगरद्वारा ५५१ मृतकका आफन्तलाई दाहसंस्कार खर्च

धनगढीमा कुनै नगरवासीको मृत्यु हुँदा आर्थिक अभावमा दाहसंस्कार गर्न समस्या नहोस् भनेर दाह संस्कार खर्च उपलब्ध गराउँदै आएको छ ।

धनगढी उपमहानगरद्वारा ५५१ मृतकका आफन्तलाई दाहसंस्कार खर्च

कैलालीको धनगढी उपमहानगरपालिकाले पाँच सय ५१ मृतकका आफन्तलाई दाहसंस्कार खर्च उपलब्ध गराएको छ । गत वर्ष २०८० साल असोज २ गतेबाट दाह संस्कार खर्च उपलब्ध गराउँदै आएको उपमहानगरपालिकाले २०८१ सालको माघ दोस्रो सातासम्म सो संख्यामा परिवार लाभान्वित भएका छन् । 

धनगढीमा कुनै नगरवासीको मृत्यु हुँदा आर्थिक अभावमा दाहसंस्कार गर्न समस्या नहोस् भनेर दाह संस्कार खर्च उपलब्ध गराउँदै आएको धनगढी उपमहानगरीय प्रहरी बलका नगर प्रहरी प्रमुख लक्ष्मण सिंह धामीले बताए ।

मृतकको घरैमा नगर प्रहरी पठाएर आफन्तलाई दाहसंस्कार गर्न नगद पाँच हजार रुपैयाँ दिने गरेको उनले बताए । उनका अनुसार पाँच सय ५१ परिवारलाई पाँच हजार रुपैयाँका दरले दुई लाख ७५ हजार पाँच सय रुपैयाँ दाहसंस्कार खर्च उपलब्ध गराइएको छ ।

धनगढी उपमहानगरपालिकाले विपन्न, असहाय, आर्थिकस्थिति एकदमै कमजोर भई मृतकको दाहसंस्कार गर्न समस्या भएका आफन्तहरुलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ ।

धनगढी उपमहानगरपालिकाले २०८० सालको भदौ ३१ गतेको २६ औँ कार्यपालिका बैठकबाट उपमहानगरपालिका क्षेत्र भित्रका मृतकको दाहसंस्कार गर्न समस्या भएका मृतकका आफन्तहरुलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको हो ।

नगर प्रहरी प्रमुख धामीका अनुसार मृतकको घरमै गएर रकम हस्तान्तरण गर्नुका साथै दुईजना नगर प्रहरी शवलाई उपमहानगरपालिकाको झण्डा ओढार सलामी दिने गरेका छन् । उनले हालसम्म ४९ जना मृतकलाई दाहसंस्कार खर्च नदिई झण्डा ओढार सलामी मात्रै दिइएको बताए ।

उनले शव जलाउँदा टायर र पलास्टिकको प्रयोग नहोस् र विपन्न परिवारले दाउरा किनेर शव जलाउन भन्ने उदेश्यले मृतकका आफन्तलाई दाहसंस्कार खर्च उपलब्त्र गराएको बताए । दाहसंसकार खर्च आवश्यक नपरेकालाई सलामी मात्र दिने गरेको उनको भनाइ छ । दाहसंस्कार खर्च विपन्न परिवारलाई उपलब्ध गराउने उपमहानगरको उदेश्य रहेको भएपनि धनि व्यक्तीले समेत दाहसंस्कार खर्च माग्ने गरेकाले समेत आर्थिक लोड बढेको उनले बताए । दैनिक सरदरमा दाहसंस्कार दुई÷तीन जनाको हुने गरेको उनले बताए ।

उपमहानगरपालिकाले १९ वटा वडाका नगरबासिलाई दाहसंस्कार खर्चसहित झण्डा ओढार सलामी दिने गरेको भएपनि नगरबासी बाहेक बाहिर बाट आएर धनगढीमा दाहसंस्कार गर्ने मृतकको शवमा झण्डा ओढार सलामी मात्रै दिने गरेको छ ।

यसका साथै उपमहानगरपालिकाले घर तथा अस्पतालबाट घाटसम्म तथा अस्पतालबाट घरसम्म शव लैजान निःशुल्क शववाहन सेवा उपलब्ध गराउँदै आएको छ ।

उपमहानगरभित्र कुनै नागरिकको निधन भएमा प्रदान गरिदै आएको सेवा छिमेकी पालिकाहरुमा समेत विस्तार गरिएको छ । उपमहानगरपालिकाले छिमेकी पालिकाहरुमा पनि केही सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

उपमहानगरपालिकाले छिमेकी पालिका कैलारी गाउँपालिका, गौरीगंगा नगरपालिका, गोदावारी नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकाका नागरिकहरुलाई शव चिस्यान सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

उपमहानगरपालिकाले गोदावारी नगरपालिकामा शव चिस्यान सेवा उपलब्ध गराएको भएपनि अहिले सेवा बन्द गरेको छ । उपमहानगरपालिकाले हालसम्म दुई सय ३४ मृतकका परिवारलाई शव चिस्यान सेवा उपवलब्ध गराएको जनाएको छ ।

कसैको मृत्यु भएपछि टाढा रहेका आफन्त आइपुग्न ढिलो हुने भएपछि शवलाई चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाइएको नगर प्रहरी प्रमुख धामीले बताए । मृतकका आफन्त काम विशेषले घरबाहिर भएका र उनीहरु नआउन्जेलसम्म शवलाई सुरक्षित राख्न निःशुल्करुपमा शव चिस्यान सेवा उपलब्ध गराइएको उनले बताए ।

उपमहानगरपालिकाले विद्युतबाट सञ्चालन हुने पाँचवटा शव चिस्यान मेसिनबाट सेवा दिइरहेको छ । तीनवटा धनगढीबासीका लागि तथा दुईवटा चिस्यान मेसिन छिमेकी पालिकालाई उपलब्ध गराउने गरेको छ ।