धनगढी पोष्ट
बुधबार, ०९ माघ २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकाका पूर्व नगर प्रमुख नृपबहादुर वडले आफूले जनताको पक्षमा काम गरेकै कारणले नगर प्रमुखको चुनाव हारेको बताएका छन् ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका वडले बुधवार नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यसमितिको दोस्रो वडा सम्मेलन तथा १०० दिने अभियानको शुभारम्भ कार्यक्रममा नगर प्रमुखको रुपमा राम्रो काम नगरेको भए चुनाव जित्ने दावी गरेका छन् ।
‘मैले काम नगरेको भए चुनाव जित्थें ।’ पूर्व नगर प्रमुख वडले भने ‘मैले अहिले अनुभव गरे । काम गरेका कारणले मैले चुनाव हारेको हो ।’
उनले आफू नगर प्रमुख हुँदा फुलबारीमा भएका कामहरूको विश्लेषण र अवलोकन गर्ने आग्रह समेत गरे ।
काँग्रेस सरकारमा भएका बेला गरेका कामहरूको टिपोर्टे र लिस्ट बनाएर जनता र कार्यकर्ता समक्ष पु¥याउने जिम्मेवारी जन–निर्वाचित जनप्रतिनिधि र नेता कार्यकर्ताहरूको रहेको उनले बताए ।
विगतका कमीकमजोरीलाई बिर्सिएर अब नयाँ ढंगले काँग्रेसको वडा कार्यसमितिले अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
पहिला काम संगठन विस्तार, व्यवस्थित र अनुशासित रूपले अगाडि बढाउनुपर्ने उनले बताए । अब आउने बजेट काँग्रेसको नेतृत्वमा आउने उनले दाबी समेत गरे ।
केन्द्रीय सदस्य वडले भने, ‘केन्द्रीय कार्यसमितिले एउटा निर्णय गरिसक्यो अब हामी गठबन्धनमा जाँदैनौँ । हामीले निर्णय गरिसकेका छौँ । चुनावमा अब कुनै पनि हालतमा गठबन्धन हुँदैन ।’
वडा कार्यसमितिका सभापति नारायणदत्त ओझाको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा कार्यसमितिका उपसभापति विष्णुप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रमको सञ्चालन वडा कार्यसमितिका सचिव अक्कल भण्डारीले गरेका थिए ।