धनगढी पोष्ट सोमबार, १४ माघ २०८१   January 27, 2025

खाद्य कम्पनीले किन्यो साढे ३४ हजार क्वीन्टल धान

खाद्य कम्पनीले किन्यो साढे ३४ हजार क्वीन्टल धान

धनगढी । खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीबाट तीन महिनामा ३४ हजार पाँच सय एक दशमलव ८४ क्वीन्टल धान खरिद गरेको छ ।

खाद्यले कात्तिक ११ गतेदेखि माघ ११ गतेसम्म कैलालीका ६ ठाउँबाट धान खरिद गरेको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दिपक थापाका अनुसार खाद्यले तीन गोदाम र तीन खरिद केन्द्रबाट धान खरिद गरेको हो ।

खाद्य कम्पनीले मोहनपुर गोदाम धनगढीबाट २२ हजार ४२ दशमलव ६१ क्विन्टल, टीकापुर गोदामबाट १४ हजार नौ सय ५८ दशमलव ७१ क्विन्टल र सत्ती गोदामबाट १० हजार दुई सय ६८ दशमलव ५७ क्विन्टल धान खरिद गरेको छ । 

यस्तै भजनी खरिद केन्द्रबाट दूई हजार पाँच सय ९१ दशमलव ८४ क्विन्टल, जोशीपुर खरिद केन्द्रबाट चार हजार एक सय ४२ दशमलव ६६ क्विन्टल र गौरीगंगा खरिद केन्द्रबाट दुई सय ९७ दशमलव ४५ क्विन्टल धान गरिद भएको खाद्य तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । 

प्रमुख थापाका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि ५५ हजार क्विन्टल धान खरिदको कोटा छ । खरिद पक्रिया नरोकिएकाले खरिदका लागि आएको धान खरिद गरिरहेको उनले बताए । 

प्रमुख थापाले भने, ‘टोल–टोल जान नसकिएकाले गर्दा पनि कोटा अनुसार धान खरिद भएन । अहिले त सहकारी लगायत अन्य क्षेत्रले पनि धान खरिद गर्ने लाग्य । त्यसैले धान खरिद कम भयो ।’ 

उनका अनुसार अहिले धेरै किसानका छोराछोरीहरु समेत बाहिर जाने थालेपछि खेतीपाति गर्ने छोडि सकेका छन् । किसानले अहिले आफूलाई खानका लागि मात्रै धान लगाउने र बचेको धान मात्रै बिक्री वितरण गर्ने भएकाले गर्दा पनि अपेक्षाकृत धान खरिद नभएको उनको भनाइ छ ।  

अहिले धान खरिद आउँनै छोडिसकेको उनले बताए । उनले खरिद गरेको धान समेत कुटाएर चामल निकाल्ने कार्यसमेत सुरु भइसकेको बताए । 

विगतका वर्षहरुमा गोदाम अभावले गर्दा भाडाका गोदाममा धान राख्दै आइरहेको भए पनि यस वर्ष पालिकाहरुले गोदाम उपलब्ध गराएपछि खाद्य कम्पनिलाई धान खरिदमा केही सहज भएको थियो । 

कम्पनीले पराल, भुस, पोकटा, माटो नभएको सफा धान र नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गर्दै आइरहेको छ । 
गत आर्थिक वर्षमा कम्पनीले मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ५८ रुपैयाँमा खरिद गरेको थियो ।

तर, यस वर्ष भने मूल्य बढाएर प्रति क्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । 
किसानले धान बिक्रीका लागि परिचय खुल्ने कागजात, वडा कार्यालयको सिफारिस र स्वघोषणा–पत्र ल्याउनु पर्ने बताइएको छ ।

खाद्य कम्पनीलाई गत वर्ष ३५ हजार धान खरिद गर्ने कोटा निर्धारण गरिएकोमा २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । यस वर्षपनि खाद्य कम्पनिले कोटा अनुसार धान खरिद गर्ने नसक्ने देखिएको छ ।