धनगढी पोष्ट
बिहिबार, १५ साउन २०७७ मा प्रकाशित
काठमाडौं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओली पाँच बर्षसम्म प्रधानमन्त्री रहने बताएका छन् । उनले केपी ओली पाँच वर्षसम्म प्रधानमन्त्री रहने र पार्टीले सरकारलाई सहयोग गर्ने बताएका हुन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री भट्टले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन् । उनले नेकपा सबैभन्दा ठूलो पार्टी रहेकाले प्रधानमन्त्री ओलीको विकल्प आफूले नदेखेको बताए ।
उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै हल हुने विश्वास राखे । उनले सहमतिको विकल्प नरहेको बताउँदै पार्टीका नेताहरूको संस्कृति नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिले पनि सहमति हुने दाबी गरे । उनले भने– ‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो ।’
नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टले केही प्रवृत्तिले पार्टीभित्र खेल खेल्न खोजेको आरोप लगाउँदै उनले भने अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमतिको विकल्प नरहेको बताए ।
एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशन पनि सहमतिकै आधारमा सम्पन्न गरिने उनको विश्वास छ । उनले भने– ‘हामी महाधिवेशनबाट नेतृत्वपनि सहमतिमै टुँगो लगाउँछौं ।’ मन्त्री भट्टले आफू नेता विशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको स्पष्ट पारे । उनले भने– ‘म दुवै अध्यक्षको क्याम्पमा छु । दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ । सहमतिकै साथ अघि बढ्नुपर्छ भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही, तर, म एकताको पक्षमा छु । पार्टी एकतालाई सुदृढ बनाउनुपर्छ भन्ने नै मेरो लाईन हो ।’