धनगढी पोष्ट
बुधबार, १६ माघ २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयबाट चालु आर्थिक वर्ष २०८१÷०८२ को छ महिनामा नौ हजार चार सय ८६ जना बिरामीहरुलाई उपचार सेवा लिएका छन् ।
चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्ममा सो संख्यामा चिकित्सालयले बिरामीहरुलाई उपचार सेवा दिएको हो ।
प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा. रामकामेश्वर ठाकुरका अनुसार अनुसार सेवा लिनेमध्ये महिलाको संख्या पाँच हजार ७७ जना रहेकोमा पुरुषको संख्या चार हजार चार सय नौ जना छ । पहिलाको तुलनामा अहिले आयुर्वेद उपचार तर्फ बिरामीहरुको आकर्षण बढ्दै जान थालेको उनले बताए ।
पूर्वकर्म अर्थात बाथरोग तथा नसा सम्बन्धी विभिन्न रोगको तेल राखेर गरिने उपचार सेवा लिने महिलाको संख्या चार हजार आठ सय १० र पुरुष तीन हजार नौ सय ७३ जना गरेर आठ हजार सात सय ८३ जना रहेका छन् ।
शल्यचिकित्साबाट ३१ जना महिला र ३१ जना पुरुष गरेर ६२ जना बिरामीले प्रयोगशाला परीक्षण गराएका छन् । योग सेवा महिला चार सय ३८ जना र पुरुष छ सय १५ जना गरेर एक हजार ५३ जना बिरामीले सेवा लिएका हुन् ।
यस्तै ज्येष्ठ नागरिक महिला एक हजार पाँच सय ८८ जना र महिला एक हजार दुई सय ७५ जना गरेर दुई हजार आठ सय ८३ जनाले सेवा लिएका छन् । मातृशिशु सुरक्षार्थबाट सेवा लिने महिला तीन सय ६९ जना रहेका छन् । प्रयोगशाला सेवा लिने दुई हजार दुई सय ३० जना महिला र एक हजार आठ सय २१ पुरुष रहेका छन् ।
बहिरंग सेवा लिने महिला नयाँ तीन हजार पाँच सय ४४ जना र पुरुष एक हजार सात सय ६१ जना रहेका छन् । भने पुराना बिरामी महिला एक हजार सात सय ६१ जना र पुरुष एक हजार तीन सय ५५ जना गरेर तीन हजार एक सय १६ जना रहेका छन् ।
नयाँ र पुराना बिरामी गरेर आठ हजार चार सय २१ जना बिरामील उपचार सेवा लिएको प्रादेशिक आयुर्वेद चिकित्सालयको तथ्याङमा उल्लेख छ । एक्सरे सेवा लिने महिला एक सय ९० जना र पुरुष ८७ जना गरेर दुई सय ७७ जनाले उपचार सेवा लिएका छन् ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा २६ हजार सात सय २२ जना बिरामीले उपचार सेवा लिएका थिए । आर्थिक वर्ष २०७९÷०८० मा २९ हजार सात सय ४७ जना बिरामीले उपचार सेवा लिएका थिए ।
मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले आयुर्वेद चिकित्सालयमा होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्स–रे, पूर्वकर्म, पञ्चकर्म, शिरोधारा, छारसूत्रद्वारा पायल्स, फिसर, फिस्टुला लगायतको उपचार सेवा दिँदै आएको बताए । निःशुल्क औषधि वितरण र चिकित्सालयमै जडीबुटी प्रशोधन गरी औषधी उत्पादन गर्न मेसिन जडान भएको उनले बताए ।
‘अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा सुदूरपश्चिम पछाडि रहेको पाएँ । यहाँ जनताको चाहाना आयुर्वेद प्रति छ । सूचना छैन । समाजमा गएर आयुर्वेद सम्बन्धी प्रचार –प्रसार गर्न कार्यक्रमहरु नै छैन । सूचनाको अभावको कारणले सेवा ग्राहीले सेवा लिन नपाएको अवस्था देखियो,’ डा.ठाकुरले भने ।
यस प्रदेशको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचमा रहेको उनको भनाइ छ । सरकारले लगानी बढाए सँगै आयुर्वेद तर्फ आर्कषण बढेको बताउँदै उनले प्रचार–प्रसारको कमी रहेको बताए ।
अहिले दैनिक ५०÷६० जनाले उपचार सेवा लिइरहेका छन् । प्रादेशिक आयुर्वेद चिकित्सालयले दरबन्दी अनुसार चिकित्सक नभएपनि गुणस्तरीय सेवा दिँदै आइरहेको छ ।
सुदूरपश्चिममा सातवटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक अञ्चल आयुर्वेद, ३३ वटा औषधालय र ३० वटा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् ।