धनगढी पोष्ट
बिहिबार, १७ माघ २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा रहेको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा यो वर्ष हवनात्मक रुद्रयाग, शनि संकटा तथा पद्म पुराण अनुष्ठान हुने भएको छ ।
धाम व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै फागुन २ देखि १५ गतेसम्म अनुष्ठान सञ्चालन गर्ने जानकारी दिएको हो ।
अनुष्ठानका क्रममा सङ्गीतमय श्रीमद्भागवत कथा प्रवचन, विश्व कल्याण श्रृङ्गारिक महाआरती लगायत धार्मिक कार्यक्रम हुने समितिका अध्यक्ष मदन बहादुर कुँवरले बताएका छन् ।
धार्मिक अनुष्ठानलाई भव्य बनाउन आवश्यक तयारी थालिएको बताउँदै कुँवरले भक्तजनहरूलाई सहभागी हुन आग्रह गरे ।
साथै, शिवपुरी धामलाई सुदूरपश्चिमकै आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न इमानदार प्रयास गरिने उनले बताए । शिवपुरी धाममा यो वर्ष हुने १५ दिने धार्मिक अनुष्ठानमा कथा वाचीका अनुराधा पाण्डे समेत आउने भएकी छन् ।