धनगढी पोष्ट
सोमबार, २१ माघ २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको सडक क्षेत्रमा रहेका एक सय ३४ वटा जोखिमयुक्त रुखहरु कटानी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ४, ५, ७, १३ र केही सरकारी कार्यालय परिसर भित्रका रुखहरु कटानी भएको हो ।
सब डिभिजन वन कार्यालय धनगढीका कार्यालय प्रमुख किशोर कुमार धामीका अनुसार चार वटा वडाका सडक क्षेत्रमा रहेका रुखहरु र तीन वटा सरकारी कार्यालय परिसरमा रहेका जोखिमयुक्त रुखहरु कटानी भएका छन् ।
डिभिजन वन अधिकृत संयोजक, जिल्ला प्रशासन, मालपोत, नापी, प्रहरी कार्यालय र वडाध्यक्ष सदस्य रहेको समितिले धनगढीका सडकहरूमा जोखिमयुक्त रुखहरू कटान गर्दै आएको छ । वन नियमावली, २०७९ को दफा ३६ मा भएको व्यवस्था अनुसार धनगढीका सडक तथा सरकारी कार्यालयहरूको रुख कटानी गरिएका हुन् ।
कार्यालय प्रमुख धामीका अनुसार वडा नम्बर ४ मा सडक क्षेत्रका ६० रुखहरु मध्य ३५ रुखहरु कटानी गरिएको छ, भने २५ रुखहरु कटानी गर्ने बाँकी रहेका छन् ।
उनले वडा नम्बर ५ मा २३, वडा नम्बर ७ मा १४ र वडा नम्बर १३ मा पाँच रुखहरु रहेकोमा सबै रुखहरु कटानी गरिसकेको बताए । उनले वडा नम्बर ६ मा रुख कटानीका लागि लगत लिएको र कटान आदेह नभएको बताए ।
मुख्यन्याधिवक्ताको कार्यालयमा एउटा, जनक शिक्षा सामाग्री केन्द्रको १६ वटा र यातायात व्यवस्था कार्यालयको १५ वटा लगायतका सरकारी कार्यालय परिसरहरूमा रहेका जोखिमयुक्त रुखहरु कटानीको काम हुँदैछ ।
कार्यालय प्रमुख धामीले भने, ‘सडक क्षेत्रको बिच भागमा भएका, सरकारी कार्यालय परिसर भित्रका रुखहरू सिफारिसको आधारमा कटान हुँदैछ । जोखिमयुक्त, दुर्घटना हुने, घटना हुने भएका रुखहरू मात्रै कटान गर्ने हो । वडा कार्यालय र वन कर्मचारीको रोहबरमा कटानी हुन्छ । र सुरक्षित स्थानमा घाटगदी गरिन्छ ।’
उनले धनगढीका बिच सडकमा रहेका रुखहरू हटाउने काम भइरहेकाले सबै रुखहरु एकै पटक हटाउन नसकिने बताए । आफूहरुलाई सिफरिसको आधारमा रुखहरु हटाउने गरेको उनले बताए ।
संघीय सहरी विकासले कालोपत्र गरेका धनगढीका सडकहरूमा दुई सय ८४ रुखहरू परेका छन् । सडक क्षेत्रमा रहेका र सरकारी कार्यालय परिसरका जोखिमयुक्त रुख कटानी भएपछि दुर्घटना नहुने अपेक्षा गरिएको छ ।