धनगढी पोष्ट
सोमबार, २१ माघ २०८१ मा प्रकाशित
धनगढी । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले दार्चुला र डडेल्धुरामा संचालन गरेको आँखा शिविरमा २७४१ जनाले आँखा उपचार सेवा लिएका छन् । स्थानीय पालिकाहरुको आयोजना र सेभा नेपाल, रुईत फाउण्डेशन र जेको फाउण्डेशनको सहयोगमा सँचालन गरिएका शिविरमा ४ शय ३६ जनाको मोतिबिन्दुको अप्रेसन गरिएको गेटा आखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए ।
दार्चुलाको गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वर, महेन्द्र मा वि दार्चुला, तथा डडेल्धुराको आँखा अस्पताल डडेल्धुरा र जोगबुढा अस्पताल जोगबुढामा माघ ४ देखि १७ गतेसम्म शिविर संचालन गरिएका थिए ।
आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाईमा रहेका बिरामीहरु उक्त क्षेत्रहरुमा शिविर संचालन हुदा लाभान्वित भएका छन् ।
गेटा आँखा अस्पतालका उप निर्देशक डा सुजाता भण्डारी र नेत्र विशेषज्ञ डा सम्यक शाक्यको नेतृत्वमा संचालित आँखा शिविरहरुमा १३ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।
सुदुरपश्मि प्रदेशमा अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा यस अन्तरगत प्रदेशका ९ वटै जिल्लामा संचालित २७ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई प्रदेशका ९ वटै जिल्लाका ग्रामीण क्षेत्रसम्म वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै आइरहेको छ ।