धनगढी पोष्ट
मङ्गलबार, २२ माघ २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका नौ वटै जिल्लामा आज (मंगलबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको सिकोलिन (एचपिभी) खोप अभियान सुरु भएको छ । मंगलबारदेखि सुरु भएको एचपिभी खोप अभियान फागुन ४ गतेसम्म सञ्चालन हुने भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका खोप कार्यक्रम फोकल पर्सन मिनराज जोशीका अनुसार प्रदेशका नौ जिल्लाका एक लाख ५१ हजार दुई सय ९१ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध सिकोलिन खोप लगाइनेछ । केन्द्रबाट आफूहरुलाई एक लाख ८७ हजार खोप उपलब्ध भए पनि एक लाख ६७ हजार नौ सय ३३ खोप प्रयोग हुने उनले बताए ।
त्यसमध्ये विद्यालयमा अध्ययनरत रहेका एक लाख ४५ हजार आठ सय ९४ जना (६ कक्षा देखि १० सम्म) का छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका पाँच हजार तीन सय ९७ जना किशोरीलाई क्यान्सर विरुद्धको खोप दिन लागिएको हो ।
प्रदेशभर दुई हजार आठ सय ५३ वटा खोप केन्द्र तोकिएका छन् । जसमध्य विद्यालय दुई हजार १४ वटा र अन्य खोप केन्द्र आठ सय ३९ वटा रहेका छन् । एचपिभी खोप अभियानका लागि प्रदेशभर दुई हजार आठ सय सात जना स्वास्थ्यकर्मी र पाँच हजार पाँच सय ९८ जना स्वयम्सेवक परिचालन गरिने स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
फोकल पर्सन मिनराज जोशीका अनुसार प्रदेशमा सबै भन्दा बढी कैलालीमा ५० हजार छ सय १३ जना र सबै भन्दा कम डडेल्धुरामा छ हजार नौ सय ८६ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाइने छ ।
यसैगरी, कञ्चनपुरमा २७ हजार पाँच सय जना, अछाममा १३ हजार नौ सय २१ जना, डोटीमा ११ हजार चार सय ८७ जना र बैतडीमा १३ हजार पाँच सय ६४ जना किशोरीलाई एचपिभी खोप लगाइने छ ।
यस्तै दार्चुलामा सात हजार दुई सय ९१ जना, बाजुरामा सात हजार आठ सय ९४ जना र बझाङमा १२ हजार ३५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
जोशीका अनुसार प्रदेशका ९० प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाउने लक्ष्य लिइएको छ । उनले विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएकाले खोप सुरक्षित रहेको बताए ।
अहिलेसम्म खोपका कारणले कुनै प्रकृतिको जटिल समस्या नदेखिएको उनले बताए । उनले भने, ‘खोप सुरक्षित छ । डराउनु पर्ने अवस्था छैन । खोप सुरक्षित राख्नका लागि हो ।’