धनगढी पोष्ट
बिहिबार, २४ माघ २०८१ मा प्रकाशित
धनगढी । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका छन् ।
बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने जनाएका हुन् । मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् ।
उनले भने, ‘कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दै छौ । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उपस्थितिको लागि हार्दिक आह्वान गर्दछु ।’
यसैबिच नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीलाई आज फेरि निरङ्कुश र स्वेच्छाचारी नेतृत्वको आरोप लगाउँदै उनले संसद् छलेर ल्याएको अध्यादेशको काम समेत नभएको जिकिर गरे ।
उनले स्थिर सरकार र संविधान संशोधनको लागि कांग्रेस र एमाले मिलेको भनी ती दलहरूले जनतासँग झुटो बोलेको समेत टिप्पणी गरेका छन् ।