धनगढी पोष्ट
शुक्रबार, २५ माघ २०८१ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमा देशको नकरात्मक चित्रण गर्ने कुरा चुनौतिको रुपमा रहेको बताएकी छन् । धनगढीमा शुक्रबार नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन् भनेर नकरात्मक प्रचार मात्रै भइरहेको छ’, उनले भनिन् ‘देशमा केही नभएको होइन् धेरै काम भएको छ । बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो छ । सुदूरपश्चिमै धेरै विकास निर्माणका काम भएका छन् ।’
त्यस्तै, कार्यक्रममा बोल्दै उनले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेको बताएकी छन् ।
उनले भनिन् ‘हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइका लागि सकेसम्मको मेहनत गरेरहेकी छु । सबै क्षेत्रमा पहल गरिरहेकी छु । भाग्यमा पनि भर पर्छ । हाम्रो चाहाना विपीन सकुशल फर्केर आउन् भन्ने हो ।’
उनले नेपाली कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै सबै नेता कार्यकर्तालाई सकरात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरिन् । उनले राजनीतिबाट मात्रै परिवर्तन ल्याउन सकिने बताउँदै आ–आफ्नो क्षेत्रबाट कर्तव्य पूरा गर्नुपर्ने बताइन् ।