धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

बैतडीको झुलाघाट सडक फराकिलो बनाईदै

बैतडीको झुलाघाट सडक फराकिलो बनाईदै

बैतडी । बैतडीको झुलाघाट सडक फराकिलो बनाउन थालिएको छ । मध्यपहाडी लोकमार्गको अन्तिम विन्दुका रूपमा रहेको झुलाघाट सडकलाई २५० मिटर फराकिलो पार्ने कार्य भैरहेको हो ।

पटक पटक दुर्घटना हुन थालेपछि सडकखण्ड चौडा पार्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी लिलाधर भट्टले जानकारी दिए ।

झुलाघाटको यातायात बिसौनीदेखि पिपल चौतारासम्म २५० मिटर सडकलाई ७ मिटर चौडा पार्ने काम भइरहेको उनले बताए ।

एक ठाउँमा घरधनीले मुआब्जा मागेका कारण ७ मिटर चौडा हुन सकेको छैन् । बाँकी सबै ठाउँमा चौडा पारी यो वर्ष ५० मिटर जति ढलान गर्ने योजना समेत रहेको भट्टले बताए ।

यस्तै ५० मिटर खण्डमा नाली समेत निर्माण गरिनेछ भने बजार नजिकै प्याराफिट निर्माण गर्ने योजना रहेको छ । सडकको ठेक्का प्रकृयामार्फत जय माँ भगवती निर्माण सेवाले ६५ लाखको लागतमा निर्माण कार्य गरिरहेको छ ।

झुलाघाट नाका भारतसँग जोडिएको पुरानो नाका हो । यो नाकाबाट बैतडीलगायत सुदूरपश्चिम र कर्णालीका सर्वसाधारण नेपाल–भारत आवतजावत गर्ने गरेका छन् ।