धनगढी पोष्ट
आइतबार, २७ माघ २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको ग्यालेक्सी माध्यमिक विद्यालयले आफनो ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आइतबार एक कार्यक्रमका बीच आफनो ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथी रहेका राष्ट्रिय परीक्षा बोर्ड धनगढीका कार्यालय प्रमुख महेन्द्रराज पाण्डेयले छोटो समयमा नै विद्यालयले थुप्रै प्रगति गर्ने सफल भएको भन्दै प्रंसशा गरेका थिए ।

कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा सफलता हासिल गर्ने विद्यार्थीहरु लगाएत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने एरिष्टो ईङलिस बोडिङ स्कुल, द्वितीय स्थान प्राप्त गर्ने ऐश्वर्य विद्या निकेतन र तृतीय स्थान प्राप्त गर्ने पञ्चोदय माध्यमिक विद्यालयका सहभागी विद्यार्थीहरुलाई नगद, प्रमाणपत्र, ट्रफि तथा मेडलबाट पुरस्कृत गरिएको थियो ।

विद्यालयले २०८० सालको एस.ई.ईं. परीक्षामा धनगढी उपमहानगरपालीका भित्र सर्बोत्कृष्ट अंक (३.९५) प्राप्त गर्ने आकाश ठगुन्ना, कक्षा १२ को वार्षिक परीक्षामा विद्यालयमा सर्बोत्कृष्ट अंक (३.८०) प्राप्त गर्ने आदर्श जोशी लगायत २०८१ सालको एम.बि.बि.एस र इन्जिनियरिङ परीक्षामा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल मेघावी विद्यार्थीहरु मुकेश विक र गणेश पाठक तथा निजका अभिभावकहरुलाई दोसल्लासहित नगद तथा प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।

साथै विद्यालयमा कार्यरत विभिन्न उत्कृष्ट शिक्षक तथा कर्मचरीहरुलाई समेत उक्त समारोहमा दोसल्लासहित नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो सम्मान हुनेमा शिक्षक गणेश भण्डारी, रत्न बहादुर कडाल र शंकर चौधरी तथा कर्मचारी तर्फ बरिष्ठ लेखापाल तपराज जोशी रहेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य महेश्वर पाठक, सिद्धार्थ माध्यमिक विद्यालयका प्राचार्य सिबी चन्द, ऐश्वर्य विद्या निकेतनका प्राचार्य प्रेमनिधि ओझा लगायत विभिन्न व्यक्तित्वहरुले मन्तव्य राखेका थिए ।

विद्यालयका प्राचार्य छत्रराज पण्डितले विद्यालयको गतिविधिका साथै स्वागत मन्तव्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनराज भट्टको अध्यक्षत्यतामा ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको थियो । कार्यक्रममको सञ्चालन विद्यालयका विद्यार्थी रिया जोशी, आलोक जोशी, आकृति बोहरा र अनुपमा अवस्थीले गरेका थिए ।
