धनगढी पोष्ट बिहिबार, ०१ फागुन २०८१   February 13, 2025

कैलाली कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ

कैलाली कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ

धनगढी । सर्वस्वसहित जन्म कैद सजाय पाएर कैद भुक्तान गर्दागर्दै कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् ।

कैलाली कारागारबाट २०६९ साल साउन २२ गते फरार भएका गोदावरी नगरपालिका-११ का ४८ वर्षीय देव सिंह ठकुरी भनिने दिपकबहादुर सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिंहलाई बुधबार बिहान नेपाल-भारत सिमाना गड्डाचौकी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनलाई आजै कैलाली पुर्‍याइएको छ ।

सिंहलाई कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतको ०६७ साल मंसिर २७ गतेको फैसलाले २०६६ असार ११ गतेदेखि लागू हुने गरी सर्वस्वसहित जन्म कैद सजाय सुनाएको थियो ।

त्यसअघि उनले हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेका थिए । त्यसैबेला उनीमाथि भक्तबहादुर भनिने बमबहादुर साउदको हत्या गरेको अभियोगमा अदालतले सर्वस्वसहित जन्म कैद सजाय सुनाएको हो ।

सिंहले २०६४ साल फागुन २४ गते राति गोली प्रहार गरेर साउदको हत्या गरेका थिए । सिंहमाथि हत्या र हातहतियार खरखजनाबाहेक अन्य मुद्दाहरु पनि छन् ।

उनीविरुद्ध २०६२ साल असोज २ गते गोदावरी-६ कै मानबहादुर सुनारको हत्या, २०६५ असार १० गते अपहरण, २०६६ असार १० गते हातहतियार खरखजनालगायत मुद्दा रहेका छन् ।